नेपाली कांग्रेस स्याङ्जाका जिल्ला सभापति एवं पूर्वसभासद् कमल पंगेनीको मृत्यु भएको छ ।
गएराति हृदयघात भएपछि कालिका सामुदायिक अस्पताल, भीरकोट वडा नं. १, हेलुमा उपचारार्थ लगिएकोमा उनलाई मृत घोषणा गरिएको थियो । उनी ५५ वर्षका थिए ।
पंगेनी संविधानसभा निर्वाचन २०७० मा स्याङ्जा क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । उनले तत्कालीन एमालेका कृष्ण खाँणलाई हराएका थिए ।
पंगेनी २०६४ सालको संविधानसभामा हितकाजी गुरुङसँग पराजित भएका थिए । त्यस्तै प्रदेशसभा निर्वाचन २०७४ मा स्याङ्जा क्षेत्र ‘क’मा दीपक चर्ती मगरसँग पनि पराजित भएका थिए ।
नेपाली कांग्रेस जिल्लाको पार्टी सभापतिमा पंगेनीको यो तेस्रो कार्यकाल थियो । भीरकोट वडा नं. ६ का स्थायी बासिन्दा पंगेनीका श्रीमती, १ छोरा र १ छोरी छन् ।