सरकारको मूल्याङ्कन गर्ने बेला भएकै छैन : काँग्रेस महामन्त्री डा. कोइराला

सरकारको मूल्याङ्कन गर्ने बेला भएकै छैन : काँग्रेस महामन्त्री डा. कोइराला
राजनीति

नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने काँग्रेस झन कमजोर हुन्छ, काँग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो , यो कुरा नेता, कार्यकर्ताले बुझ्नु पर्नेमा उनले जोड दिए ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले वर्तमान सरकारको मूल्याङ्कन गरी हाल्नुपर्ने समय भइनसकेको बताए । तर, सरकारले मुलुकलाई सही दिशा दिन नसकेको उनको आरोप थियो ।

यसैबीच, आजै नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सबैलाई मिलाएर लानुपर्ने दायित्व नेतृत्वको भएको बताए ।

त्यस अवसरमा काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कार्यकर्ताले पनि एकअर्कालाई आरोप, प्रत्यारोप गरेर हैन आफूलाई पनि सच्याउनुपर्नेमा जोड दिए ।

भेलामा बाँके काँग्रेस सभापति किरण कोइरालालगायत सहभागी कार्यकर्ताले पार्टी सङ्गठन चलायमान नभएको, गुटबन्दी बढेको, पार्टी नेतामुखी भएको, कार्यकर्तालाई काम दिन नसकेकोलगायतका गुनासा राखेका थिए ।

Post Comment