सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का स्थायी समिति सदस्य योगेश भट्टराईले नेपाली काँग्रेसलाई टोक्ने अरिंगालको आवश्यकता रहेको बताएका छन् ।
नसाका बिरामीका लागि अरिंगाल औषधी समेत हुने प्रसंग निकाल्दै भट्टराईले लामो समय सत्ता बसेको काँग्रेसको उपचार गर्न पनि अरिंगाल बन्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।
बुधबार काठमाडौँमा भएको एक कार्यक्रममा प्रतिनिधिसभाका सदस्य समेत रहेका भट्टराईले भने, ‘अरिंगाल औषधी पनि हो । लामो समय सत्तामा बस्दा काँग्रेसका नसामा समस्या छ, एक/दुई वटा अरिंगालले टोकाउने हो भने सञ्चो हुन्छ, यसका लागि पनि हामी अरिंगाल बन्नुपर्ने छ ।’
केहीदिन अघि नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारकाविरुद्ध अनर्गल प्रचार भइरहेको भन्दै अरिंगाल जसरी प्रतिवादमा उत्रिनुपर्ने बताएका थिए ।
अरिंगालको गोलो चलाउने हो भने त्यहाँ भएका सबै अरिंगाल प्रतिवादमा उत्रने गर्छन् । सोही प्रसंग जोड्दै ओलीले आफ्ना नेता, कार्यकर्तालाई अरिंगाजस्तै सरकार र पार्टीविरुद्ध भएका गलत प्रचारका विरुद्ध लाग्न निर्देशन दिएका थिए । त्यसलगत्तै प्रमुख प्रतिपक्ष दल काँग्रेसले त्यसको आलोचना गरेको थियो ।
बुधबार सोही कार्यक्रममा पनि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन आएकाले आफू धेरै नबोल्ने भन्दै टिप्पणी गरेका थिए । विश्वप्रकाश बोल्दा मुस्कुराईरहेका योगेशले आफ्नो बोल्ने पालोमा त्यसको जवाफ दिएका हुन् ।