प्रचण्डलाई नोवेल शान्ति पुरस्कार सिफारिस गर्न पूर्वमाओवादीको दवाब

प्रचण्डलाई नोवेल शान्ति पुरस्कार सिफारिस गर्न पूर्वमाओवादीको दवाब
राजनीति

नेपाल कम्युनिस्ट पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिदिन प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्रका ‘पूर्वमाओवादी’ नेताहरूले आग्रह गरेका छन् ।

शान्ति सम्झौता हुँदै शान्ति प्रक्रियाका सबै चरण पार गरी आम निर्वाचनसहित संघीय संरचनाको नेपाल निर्माणमा उनको भुमिकालाई नजरअन्दाज नगरी उक्त पुरस्कारका लागि सिफारिस गरिदिन आग्रह गरिएको हो । तर यो आग्रहको ओली खेमालगायत अन्य नेताले पनि विरोध गरेका छन् ।

अमेरिकाले आतंककारी सूचीमा लामो समय राखेर केही समयअघि मात्र उनको नामको वारेन्ट हटाइएको थियो । ‘यस्तो अवस्थामा नोबेल शान्ति पुरस्कारका निम्ति सिफारिस गरिनु सरकारकै बेइज्जत हुन्छ’, उच्च स्रोतले भन्यो ।

प्रधानमन्त्री ओली शनिबार संयुक्त राष्ट्र संघको महासभामा जानुअघि नेकपाका नेताहरूको यस्तो आग्रहलाई उनले छलफलका रूपमा अघि बढाउलान् त ? भन्ने संशय सामाजिक सञ्जालसम्म चलेको छ ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगले मिलाउनुपर्ने कतिपय युद्धकालका घटनामा समाधान भइनसकेको अवस्था, सर्वोच्च अदालतले दोषी गरेकालाई स्वच्छ छविको भनेर रिहाई दिएको विषयमा विवाद भइरहेका बेला प्रचण्डलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न नहुने तर्क र व्यंग्य धेरैतिरबाट आउन थालेका छन् ।

पूर्व सांसद तथा पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेललाई प्रचण्डको दबाबमा दिइएको आममाफीका विषयमा संसदमा नै चर्चा भएको थियो । नेपाली कांग्रेसका नेता गगन थापाले यस विषयमा संसदमा बोल्दा प्रचण्डको अनुहार उदास देखिएको थियो ।

कांग्रेसका एकजना केन्द्रीय सदस्य भन्छन्,‘यदि प्रचण्डका लागि सरकारले यस्तो सिफारिस गर्छ भने त्यो भन्दा दयाको कुरा केही हुँदैन । शान्ति सम्झौताका मुख्य पात्र प्रचण्ड नभएर कांग्रेसका तत्कालिन सभापति तथा प्रधानमन्त्री स्व. गिरीजाप्रसाद कोइराला थिए ।’

उनलाई गरेको सिफारिस माओवादीको दबाबमा नै फिर्ता भएको थियो । माओवादीसँग नजिक भएका कतिपय व्यक्तिले गिरीजाको नोबेल सिफारिस खोस्नका लागि राष्ट्र संघमा अपिल नै गरेका थिए । जसमा उनीहरू सफल भए ।

एकजना अधिकारकर्मी भन्छन्,‘१७ हजारको ज्यान जानेगरीको दशकीय द्वन्द्वको नेतृत्व, ५० औं हजार परिवार विस्थापित बनाउनेमात्र होइन, मानवताविरोधी गतिविधिको पृष्ठभूमीबाट मुलधारमा आएका प्रचण्डलाई बाँदरमुढेमा सर्वसाधारणको एउटै चिहानले पनि सताइरहेका बेला नोबेल शान्ति पुरस्कारका लागि कसले सिफारिस गर्छ ?’

छापामार युद्धमा लागेका लडाकुलाई अयोग्य ठहर गर्दै शान्ति प्रक्रियाका नाममा राजनीतिक उचाईमा पुराउने ठूलो जमातलाई नै बेवास्ता गरेका प्रचण्ड सोही युद्धअपराधको सूचीबाट नहटाइएका कारण अमेरिका जान सकेका छैनन् ।

युद्धमा विस्थापित भएका हजारौं मानिस अमेरिकामा छन् । युद्धको नेतृत्व गरेका मध्ये एकजना डा. बाबुुराम भट्टराई शालिन राजनीतिमा आएर अमेरिका पुग्दासमेत उनीविरुद्ध ‘मडरर’को कालो तुल देखाइयो ।

यस्तो अवस्थामा प्रचण्डलाई नोबेल शान्ति पुरस्कारका लागि कसरी सिफारिस हुन सक्छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रचण्डका लागि नोबेल शान्ति पुरस्कारको माग गरेको सुन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका व्यंग्यात्म टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्,‘प्रचण्डजीलाई नोबेल पुरस्कारको माग सुनियो । एक सल्लाह मैले सुनें । के त्यो भने नोबेल पुरस्कार सम्माननिय महान् ‘शान्तिकामी सर्वहारा’ तथा अयोग्यलाई योग्य बनाउन सक्ने महान ‘भ्रष्टाचारविरोधी शिखर पुरुष र दुई तिहाईका ढुकढुकी प्रचण्ड र ओली दुवैलाई दिए कसो होला ?’

Post Comment