अब त अति भो: २७ वर्षीया बसन्तीमाथि छिमेकीद्धारा एसिड र छुरा प्रहार

अब त अति भो:  २७ वर्षीया बसन्तीमाथि छिमेकीद्धारा एसिड र छुरा प्रहार
समाज

युवतीहरुमाथि हुने एसिड आक्रमण जस्तो बर्बर हिंसा निरन्तर दोहोरिदो छ । रौतहटकी सम्झना दासले एसिड आक्रमणमा परि ज्यान गुमाएको एक दिन नवित्दै नवलपुरमा एउटा यस्तै दर्दनाक घटना दोहोरिएको छ । कावासोती नगरपालिका वडा नं. ९ डण्डा बजारकी २७ वर्षीया बसन्ती परियारमाथि आफनै छिमेकीले ज्यान लिने उदेश्य सहित एसिड र छुरा प्रहार गरेका हुन् ।

भरतपुर अस्पतालमा मृत्युसँग लडिरहेकी उनको अवस्था गम्भीर रहेको भरतपुर अस्पतालका आईसीयु वार्डका प्रमुख फिजिसियन डा बिजय पौडेलले बताउनु भयो । एसिडको असर श्वासप्रश्वासमा पुग्न सक्ने र यो घातक प्रकारको भएकाले समस्या जटिल पनि हुन सक्ने पौडेल बताउनु हुन्छ । एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको छ ।

छुरा प्रहारबाट उनको शरीरमा गम्भीर चोट लागेको छ । उनको दायाँ गालाको हड्डी फुटेको छ । अनुहार पूरै जलेको छ । देव्रे छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोको नजिक पुगेको डा.शुरेस प्रधानले बताउनु भयो । अन्य स्थानको घाउ भन्दा यो गम्भीर रहेको डा. प्रधानले जानकारी दिनु भयो । देव्रे तर्फको पेटमा छुरा प्रहार हुँदा सानो आन्द्रा बाहिर निस्किएको बताईएको छ । बसन्तीमाथि एसिड प्रहार गर्ने विमल शिर्पालीलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । उनले प्रहरीसामू अपराध स्वीकार गरेका छन् ।

प्रारम्भीक बयान दिएका विमलले ‘पूर्वसहमति अनुसार काम नभएकाले’ एसिड प्रहार गरेको बताएको बताईएको छ । योजनाबद्ध रुपमा बसन्तीमाथि एसिड प्रहार गरेको देखिएको नवलपुरका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिनु भयो । बिमलले तीजमा भारत जाँदा एसिड किनेर ल्याएका रहेछन् । लामो समयदेखि आफू बसन्तीसँग प्रेम सम्वन्धमा रहेको तर, विवाह गर्न नमान्दा आक्रमण गरेको बिमलले बताएको प्रहरीको भनाई छ । भरतपुर अस्पतालको आइसीयूको भेन्टिलेटरमा राखेर बसन्तीको उपचार भइरहेको छ ।

आइतबार राति आकस्मिक कक्षमा भर्ना भएकी उपचार निकै प्रभावकारी र चिकित्सकको उच्च निगरानीमा गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राध्यापक डा कृष्ण प्रसाद पौडेलले बताउनु भयो ।सर्जन डा. सुरेश प्रधान, डा. प्रितम गुरूङ, डा. ज्ञानेन्द्र न्यौपानेको टोलीले ३ घण्टा लगाएर बसन्तीको अप्रेशन गरेको छ । उनको दाहिने र देब्रे गालाका दुवैतर्फ एसिडका साथै चक्कु प्रहार भएको पाइएको चिकित्सकहरु ब्ताउछन् । दायाँ गालाको हड्डी फुटेको र बसन्तीको देव्रेतर्फको पेटमा प्रहार भएकोे छुराले सानो आन्द्रा बाहिर आएको र त्यसको अप्रेशन गरिएको डा. सुरेश प्रधानले बताउनु भयो । एसिडले अनुहार, घाँटी, पाखुरा र छातीमा असर गरेको छ ।

एउटा आँखामा पूरै क्षति भएको जस्तो देखिएको चिकित्सकले बताए । बसन्ती परियार र एसिड हान्ने बिमल शिर्पाली छिमेकी भएको बताईएको छ । बसन्तीका एक छोरा र एक छोरी छन् । दिदी वसन्तीको श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा लामो समय मलेसियामा रहनुभएको र केहि दिन अगाडि मात्रै नेपाल फर्किनुभएको बहिनी सुनिताले बताउनु भयो । सोमबार साँझतिर नजिकैको बजारमा तरकारी किन्न भनेर बसन्ती सँगै बस्दै आएकी मामाकी छोरी अनुलाई लिएर दिदी गएको र त्यही बेला आक्रमण गरेको आफुले जानकारी पाएको सुनिता बताउनु हुन्छ ।

बाटोमा लुकेर बसेका विमलले पछाडिबाट बसन्तीको कपाल समातेर अनुहारमा एसिड खन्याएको प्रहरीको भनाई छ । उनी अत्तालिएर छट्पटाउन थालेपछि बिमलले तरकारी काट्ने चक्कुले बसन्तीको अनुहार, छाती, पेटमा जथाभावी छुरा हानको र मामाकी छोरी अनुले छुट्टाउन खोज्दा उनीमाथि पनि चक्कु प्रहार गरेको प्रारम्भिक बयानबाट खुलेको नवलपुरका प्रहरी प्रमुख रमेश थापाले बताउनु भयो ।

भरतपुर अस्पतालमा उपचाररत अनुको हातमा ४ वटा टाँका लगाइएको छ । बसन्तीका श्रीमान यमनारायण र बिमल साथी समेत भएको बुझिएको छ । बिमल साउदी अरबबाट ५ महिना अघि नेपाल फर्किएको र उनकी श्रीमतीले भने सन्तानसहित माइतमा बस्दै आएको बताईएको छ ।

बसन्तीका श्रीमान यमनारायणले विमलमाथि फाँसीको सजाय हुनुपर्ने माग गरेका छन् । उनले पैसा वा क्षतिपूर्ति भन्दा पनि जति खर्च लाग्छ आफुनै उपचार गर्ने बताउदै उसलाई फाँसी हुनुपर्ने माग गरे ।

Post Comment