यसपालि मुस्ताङ घुम्न जाँदा ठाउँठाउँमा अञ्जु पन्तको पोस्टर भेटियो। मुक्तिनाथ मन्दिरबाट झोङ जाने बाटोमा रहेको सुनसान गाउँमा समेत पोस्टर टाँसिएको रहेछ। ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएँ तिमीलाई…’ गीतले चर्चाको शिखरमा पुगेकी गायिका हुन् अञ्जु पन्त। जम्मा साढे १३ हजार जनसंख्या भएको त्यसमाथि पनि धेरैजसो जाडो सुरु हुन थालेकोले मुस्ताङबाट अन्यत्र झरेकोले जिल्लाभरमा ५ हजारको हाराहारीमा जनसंख्या भएको मुस्ताङमा कन्सर्ट? अचम्म लागेर पोस्टर नियालेर हेरेँ। अझ प्रवेश निःशुल्क समेत लेखिएको रहेछ।
पोस्टरमा वरिष्ठ गायिका अञ्जु पन्त भन्दै फोटो राखिएको छ। साथमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम लेखिएको छ। आयोजकहरुको नाममा IFGF नेपाल र मुस्ताङ इसाई समुदाय लेखिएको रहेछ। IFGF भनेको International Full Gospel Fellowship को छोटो रुप हो। यसको उद्देश्य जति सक्दो धेरै देशमा जति सक्दो धेरै चर्चहरु बनाउने हो।
मुस्ताङमा पछिल्लो पटक जनगणना हुँदा १३ हजार ४५२ जनसंख्यामा सबभन्दा बढी बौद्ध धर्मावलम्बी (८ हजार+) त्यसपछि हिन्दु (५ हजार+) थिए भने क्रिश्चियनको संख्या १५२ थियो। मुस्ताङ इसाई समुदाय पनि यो कार्यक्रमको आयोजक रहेछ।
अतिथिका रुपमा राखिएको अर्को फोटो दानियल हानाफीको रहेछ। उनी इसाई धर्म प्रचारक हुन् र नेपालसँगै भारत, पाकिस्तान, अफ्रिका क्षेत्रको प्रत्यक्ष सुपरभाइज गर्छन्।
कार्यक्रममा ‘रोगी बिरामीहरुको निम्ति प्रार्थना गरिनेछ’ पनि लेखिएको छ। नेपालमा इसाई धर्म परिवर्तन गर्नेहरु मध्ये अधिकांश यस्तै>प्रार्थना र रोग निको हुनेबाट प्रभावित भएका हुन्छन्।
पोस्टर हेर्दा थाहा भयो यो त अञ्जु पन्तलाई देखाएर इसाई धर्म प्रचारको एउटा कार्यक्रम पो रहेछ। त्यसो त उनले आफू इसाई धर्मावलम्बी भएको सार्वजनिक पनि गरिसकेकी छिन्। २०७१ सालमा ‘दुर्गा माताको आर्शिवादले, सोचे झै पुग्दै जाओस्’ बोलको गीतमा हिन्दु शब्द रहेको भन्दै गाउन नमानेको घटना सार्वजनिक भएपछि उनको निकै आलोचना भएको थियो। पछि उनले यस विषयमा माफी समेत मागेकी थिइन्।