कम्युनिष्ट निरंकुशताविरुद्ध लड्न तयार रहनुस् : देउवा

कम्युनिष्ट निरंकुशताविरुद्ध लड्न तयार रहनुस् :  देउवा
राजनीति

नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टीमा एकताको सन्देश प्रवाह भएको बताएका छन् । मंसिर २९ गतेबाट सुरु भएको महासमिति बैठकको आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा समापन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । सदस्यहरुले बुथबाटै जितेर आउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

उनले सबै क्लस्टरले अधिकार पाएका र अब सोही अनुसार गाउँमा गएर सदस्यता बढाउन सके आगामी निर्वाचनमा कांग्रेसले पहिलो पार्टी बन्ने दाबी गरे । उनले पार्टीभित्र अन्तर्घात बढेको र यसमा सुधार गर्नुपर्ने पनि औँल्याए ।

उनका अनुसार पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने कांग्रेसको तयारी छ । साथै उनले अब कम्युनिष्ट सरकारको निरंकुशताविरुद्ध लड्नका लागि तयार कार्यकतालाई आग्रह गरेका छन् ।

उनले कम्युनिस्ट सरकार निरंकुशरुपमा अघि बढिरहेको बताउँदै यसबिरुद्धको आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।  उनले भने, ‘वर्तमान सरकार जनअपेक्षा विपरित निरंकुश ढंगले निर्णय गरिरहेको छ। यस्तो निरंकुशताविरुद्ध लड्न सम्पूर्ण कांग्रेसीहरु तयार रहन आवश्यक छ । प्रधानमन्त्री केपी ओली जीले आफ्ना पार्टीका मान्छेहरुलाई दुःख दिइरहेका छन् । अरुलाई के गर्लान् ?’

त्यसैगरी समापन कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको विधान विश्वकै नमुना भएको बताउँदै पार्टी चलाउन भावनात्मक एकता पनि चाहिने बताएका छन् ।  साथै उनले महासमिति बैठकबाट कमी कमजोरी हटाउन महत्वपूर्ण सहयोग गरेको बताए ।

नेता पौडेलले विगतका गल्तीहरुबाट पाठ सिक्दै कांग्रेसले क्यालेन्डर बनाएर अघि बढ्नुपर्ने जोड दिए  उनले भने, ’पुस १६ गते हुने एकता दिवसदेखि नै सदस्यता वितरण गर्नुपर्दछ । पास भएको विधान बमोजिम पार्टीको संरचनालाई पूर्णता दिनुपर्दछ ।’

नेता पौडेलले अहिलेदेखि नै देशभर संगठन विस्तार गर्ने र गाउँ–गाउँमा कार्यकर्ता परिचालन गरी कांग्रेसलाई सक्रिय बनाउनुपर्ने बताए । यस्तै कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टीले ढिलै भएपनि विधान पास गरेकोमा खुशी व्यक्त गरेकी छन् । उनले कांग्रेसको सिद्धान्त र वीपीको मार्गअनुसार अघि बढे आगामी चुनावमा कांग्रेस एक नम्बर पार्टी बन्ने दाबी गरिन् । साथै उनले कसैको आलोचना गर्नुपरे व्यक्ति जीवितै भएको बेला गर्नुपर्ने बताइन् । यस महासमितिले पार्टीलाई एकताबद्ध गरी नयाँ उर्जा थपेको नेतृ कोइरालाले बताइन् ।

महासमिति बैठकले महामन्त्री शशांक कोइरालाद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, उपसभापति विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र सहमहामन्त्री रामशरण महतद्वारा प्रस्तुत विशेष आर्थिक प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

कांग्रेसले बैठकको अन्तिम दिन पार्टीको विधान पारित गर्दै महासमिति बैठक समापन गरेको हो । जसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह–महामन्त्री, एक कोषाध्यक्ष र एक प्रवक्ता गरि १५ सदस्यीय पदाधिकारी हुने भएको छ ।

त्यसैगरी कोषाध्यक्ष र प्रवक्ता निर्वाचित केन्द्रीय सदस्य मध्येबाट बहुमतले अनुमोदन हुनेछन् ।  यससँगै केन्द्रीय समिति १६७ जनाको हुने भएको छ ।

Post Comment