राजनीतिक मुद्दा उठाएर डा. केसीले आफ्नै उचाइ घटाए

राजनीतिक मुद्दा उठाएर डा. केसीले आफ्नै उचाइ घटाए
राजनीति

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीलाई आमरण अनसन फिर्ता लिन आग्रह गर्नु भएको छ ।

मन्त्री पोखरेलले डा. केसीको जीवन रक्षाको प्रश्न सरकारमाथि मात्रै नतेर्स्याउन पनि अपिल गर्नुभयो । डा. केसी वरीपरि बसेकाहरुले पनि उहाँको जीवन रक्षाका लागि पहल गर्नुपर्ने जिम्मेवारी रहेको मन्त्री पोखरेलको भनाइ छ ।

मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदको बाटोबाटै पारित गराउने विषयमा डा. केसीको पनि सहमति रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजाने वातावरण बनाउन सबैलाई पहल गर्न आग्रह गर्नुभयो । उहाँले चिकित्सा क्षेत्रको सुधारकै लागि सो विधेयक प्रतिनिधिसभाबाट पारित गराएकाले त्यसमा डा. केसीले चित्त दुःखाउनुपर्ने कुनै कारण नरहेको तर्क पनि गर्नुभयो ।

उहाँले डा. केसीले राजनीतिक मुद्दा उठाएर आफ्नो उचाइ घटाएको आरोप पनि लगाउनुभयो । आइतबार काठमाण्डाैमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री पोखरेलले सरकारको राजीनामा माग्ने लगायतको विज्ञप्ति जारी गरेर डा. केसीले आफ्नो उचाइ घटाएको पनि बताउनुभयो ।

मन्त्री पोखरेलले फागुन महिनाभित्र राष्ट्रिय शिक्षा नीति बनाइसक्ने घोषणा पनि गर्नुभयो । राष्ट्रिय शिक्षा नीति र त्यससँग सम्बन्धित ऐन निर्माणको काममा सहयोग गर्न पनि सरोकारवाला निकायलाई मन्त्री पोखरेलको आग्रह छ ।

उहाँले शिक्षा विकासको पनि पूर्वाधार भएकाले यस क्षेत्रको सुधारमा सरकार प्रतिबद्ध भएर लागि परेको पनि बताउनु भयो ।

Post Comment