वाग्मती सफाइ महाअभियानको ३००औँ हप्ता

वाग्मती सफाइ महाअभियानको ३००औँ हप्ता
समाज

 ‘स्वच्छता मेरो पहिचान ः सफाइ मेरो योगदान’ भन्ने नारासाथ वाग्मती सफाइ महाअभियानको ३००औँ हप्ताको विशेष कार्यक्रम आज बिहान शङ्खमूलस्थित नदी किनारमा गरिँदैछ ।

बिहान ७ बजे आलोकनगर र युएन पार्कबाट जनजागरण ¥यालीसहित शङ्खमूलमा जम्मा भएर सफाइसहित विशेष कार्यक्रम गरिनेछ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने शहरी विकास मन्त्रालयले जनाएको छ । विशेष कार्यक्रमका लागि शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईको अध्यक्षतामा उपत्यकाका सबै नगरपालिकाका प्रमुख सदस्य रहेको १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो । हाल उपत्यकाका विभिन्न स्थानका साथ उपत्यकाबाहिर समेत गरी १०२ स्थानमा नदी एवं नगर सफाइका कार्यक्रम भइरहेका छन् ।

विसं २०७० जेठ ५ गते तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सफाइ महाअभियानको शुभारम्भ गर्नुभएको थियो । शुरुआती चरणदेखि नै तत्कालीन मुख्यसचिव एवं हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले सफाइ महाअभियानको नेतृत्व गर्नुभएको थियो ।

शुरुको १००औँ हप्तासम्म बाग्मती नदीमा मात्रै केन्द्रित सफाइ अभियान विस्तार हुँदै विष्णुमती, रुद्रमती (धोबीखोला), नख्खु, कर्मनाशा (कोडकु), इन्द्रमती (बल्खु), मनोहरा, हनुमन्ते नदी तथा चक्रपथ सफाइसम्म विस्तार भएको थियो । २००औँ हप्तासम्म सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा तथा अभियानलाई कार्यान्वयन गर्न दशबुँदे घोषणापत्र जारी गरिएको थियो ।

यस अवधिमा करीब १८ हजार मेट्रिक टन फोहर उठाई सकिएकोे छ । यस कार्यमा एक हजार ८५० सङ्घसंस्था आबद्ध रही करीब दश लाख स्वयंसेवी परिचालन भएका थिए । वाग्मती सफाइ महाअभियानको ३००औँ हप्ताको विशेष समारोहको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजै ७५३ वटै स्थानीय तहमा विशेष सरसफाइ अभियानसमेत सञ्चालन हुने गरी कार्यक्रम घोषणा गरिने जनाइएको छ ।

 

 

फाइल फोटो

Post Comment