राप्रपाका अध्यक्ष कमल थापाले जनताको मुक्ति र परिवर्तनका लागि युद्ध गरेका पूर्व लडाकुलाई आफ्नो नेता तथा कमान्डरलाई कसरी अर्बपति हुनुभयो ? भन्ने प्रश्न गर्न आग्रह गरेका छन् ।
मेची महाकाली राष्ट्रिय स्वाभिमानको यात्रामा बारास्थित निजगढमा आयोजित आमसभामा बोल्दै उनले सशस्त्र संघर्षमा होमिएका युवाको अवस्था दयानिय हुनु तर नेताहरु नवधनाढ्य भएको भन्दै पूर्व लडाकुलाई प्रश्न गर्न आग्रह गरेका हुन् ।
अध्यक्ष थापाले मुलुकमा भ्रष्टाचारीलाई कारबाही गर्न र आमजनतालाई सुशासनको प्रत्याभूति दिलाउन सरकार समक्ष माग गरेका छन् । यस्तै, नेता बुद्धिमान तामाङले आफू बौद्ध धर्मावलम्बी भए पनि नेपाल हिन्दु राष्ट्र भए मात्र सनातन धर्मको रक्षा हुने बताए । राप्रपा नेता एवं सांसद राजेन्द्र लिङ्देनले आरक्षणको व्यवस्था अधुरो भएको बताउँदै जातभन्दा पनि आर्थिक विपन्नका आधारमा आरक्षण गरिनु पर्ने बताए ।
पार्टीको राष्ट्रिय स्वाभिमान यात्राको छैठौं दिन सोमबार सर्लाहीको हरिपुर, नवलपुर, हरिवन, सुकेपोखरी, रौतहटको बागमती, चन्द्रनिगाहपुर, बाराको निजगढ, पथलैया र अमलेखगञ्जमा सभा गरिएको थियो । पार्टीले सरकारसँग हिन्दु राष्ट्र पुनःस्थापना, राजसंस्थाबारे गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह, भ्रष्टाचारको अन्त्यलगायतका २२ बुँदे माग प्रस्तुत गर्दै स्वाभिमान यात्रा सञ्चालन गर्दै आएको छ ।