काठमाडौं, २५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन् । उनले उक्त सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई बैद्यता त प्रदान गर्दैन् ? भन्दै प्रश्न समेत तेर्साए ।
सरकार र सिके राउतबीच ११ बुँदे सहमति भएको भोलिपल्ट आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले यस्तो बताएका हुन् । उनले भने,‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र समृद्धिको बाटोमा अघि बढाउनको लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ, यसमा कसैको विरोध हुँदैन् । सरकारले त्यस्तो प्रयास गर्नुपर्छ । तर, राउतसँग सहमति गरेर त्यस्तो गरेको मलाई लागेको छैन् ।’
उनले भने,‘राउतजीले म अब नेपालको संविधान अनुसार शान्तिपूर्ण राजनीतिक प्रतिष्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गर्थैं । तर, उहाँले आफ्नो सम्बोधनमा त्यस्तो बोल्नुभएन् । उहाँले यसअघि राष्ट्र विरुद्धमा र देश टुक्र्याउने क्रियाकलाप र अभिव्यक्ति दिनुभएको थियो, ती सबै गलत हुन । म फिर्ता लिन्छु भनेर एक शब्द पनि बोल्नुभएन ।’
रावलले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्येश्य, गन्तव्य र एउटा स्पष्ट धारणा हुनुपर्नेमा सिके राउतसँग सम्झौता गर्दा उद्देश्य स्पष्ट नदेखिएको आरोप लगाए । उनले भने,‘राउतजीले यदि नेपालको संविधानअनुसार अघि बढ्छु र यसअघि देश टुक्र्याउने र विखण्डनकारी अभिव्यक्ति दिएकोले अब म फिर्ता लिन्छु भनेर भन्नुपर्दथ्यो । तर, उहाँले त्यस्तो केही पनि भन्नुभएन ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिपछि सम्बोधन गर्दा देशको एक ईन्चपनि भुमि टुक्रयाउन पाईँदैन भनेर बोलेको उल्लेख गर्दै रावलले भने,‘तर, हिजो स्वतन्त्र मधेश संगठन र सरकारबीच सहमति भएको छ । यसले के अर्थ दिन्छ ? स्वतन्त्र मधेश भनेको के हो ? यसको प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनुपर्छ ।’
उनले आफ्नै पार्टीका कतिपय साथीहरुले स्वतन्त्र मधेश संगठन भनेको त नाम हो भनेर हाँस्यस्पद तर्क गरेको पनि आरोप लगाए । उनले भने,‘भोलि कसैले नेपाल समाप्त पार्टी गठन गर्यो भने सरकारले सहमति गर्ने त ? यो तर्क नै गलत हो ।’
रावलले सिके राउतले स्वयम आफ्नो फेशबुक पेजमा जनमतसंग्रह गराउन नेपाल सरकार सहमत भयो भनेर पोष्ट गरेकोपनि सुनाए । उनले भने,‘उहाँले फेशबुकमा यस्तो कुरा लेख्नुभएको छ, स्वतन्त्र मधेशका सबै मुधाहरु फिर्ता लिनपनि सरकार सहमत भयो भनेर उहाँले लेख्नुभएको छ। यो निकै आपत्तिजनक हो । सरकारले यसको पनि जवाफ दिनुपर्छ ।’
हिजो भएको सहमति नेपालको संविधानविपरित र पार्टीको विधानविपरित भएको उनको टिप्पणी छ । आफू कम्युनिष्ट पार्टीको सच्चा कार्यकर्ता भएकोले पार्टीको विधानो प्रतिरक्षा गरेको पनि उनले स्पष्ट पारे । उनले भने,‘मधेश टुक्र्याउँछु भन्नेहरुसँग जनमतसंग्रह गर्न सहमत हुने हो ? यो कुरा संविधानले अनुमति दिन्छ त ? नेकपाको घोषणापत्रले अनुमति दिन्छ त ? म प्रश्न गर्न चाहन्छु।’
रावलले कसको स्वार्थमा यत्रो सहमति गरियो ? भन्दै सरकारलाई प्रश्न गरे । उनले भने,‘सरकारले यसको जवाफ दिनुपर्छ । सहमतिको बुँदा नम्बर ४ मा स्व–शासनको कुरा उल्लेख गरिएको छ, जुन कुरा हामीले संविधानमा समेत मानेका थिएनौं । अहिले फेरि यो कुराले प्रवेश किन पायो ?’