नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार धेरै नटिक्ने दावी गरेका छन् ।
नयाँ वर्षको अवसरमा काठमाडौं क्षेत्र नम्बर–५ ले गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले कम्युनिष्ट सरकार अरुका कारण नभइ आफ्नै कारण धेरै नटिक्ने जिकिर गरेका हुन् ।
जनताले तिरेको कर कार्यकर्ताको पालन पोषणमा खर्चिएको भन्दै उनले भ्रष्टाचार,अनियमिततामा सरकारले सिमा नाघेको उल्लेख गरे ।
ओली सरकारबाट जनताले मुक्ति चाहेको भन्दै देउवाले संघर्षका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।
सभापति देउवाले पार्टीभित्र अनुशासनको कमी रहेको भन्दै अनुशासन उल्लंघन गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिए ।
पार्टी भित्र गुट–उपगुट अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउने उनको भनाई थियो । देउवाले जनताको मन जित्न जनताको घर–घर पुग्न पनि कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले कम्युनिष्ट सरकार रित्तो भएको भन्दै पानी जहाज र रेलको सपना देखाएर सरकार हावामा उडेको टिप्पणी गरे ।
कार्यक्रममा नेता नरहरि आचार्य,डा प्रकाशशरण महत, सुरेन्द्र पाण्डे, गोबिन्द भट्टराईलगायतले जागरण अभियानलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए ।