शृङ्खलाबद्ध आत्मघाती विस्फोटनमा अढाई सयभन्दा बढी व्यक्तिको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको छ।
सोमवारदेखि लागु हुने उक्त प्रतिबन्धमा कुनै विशेष पहिरनको उल्लेख गरिएको छैन। तर यस्तो प्रतिबन्ध मुस्लिम महिलाहरूले प्रयोग गर्ने पहिरनप्रति लक्षित रहेको देखिएको छ।
अधिकारीहरूको निर्णयानुसार अब कसैले पनि अनुहार छोपिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउनेछैनन्।
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपयाहरू अपनाइएको बताएका छन्।
यो प्रतिबन्धलाई पनि उनको त्यस्तै आकस्मिक उपायका रूपमा अर्थ्याइएको छ।
श्रीलङ्कामा रहेका बीबीसीका स्टीभ ज्याक्सनका अनुसार सोमवारबाट लागु हुने उक्त प्रतिबन्धले सबै किसिमका अनुहार ढाक्ने पहिरनलाई रोक लगाएको हो।
उनी भन्छन्, “घोषणामा मुस्लिम महिलाहरूले लगाउने बुर्का वा ‘निकाब’बारे प्रस्ट उल्लेख छैन। तर यो उनीहरूप्रति नै लक्षित छ भन्ने स्पष्ट देखिन्छ।”
श्रीलङ्कामा धेरै मुस्लिम महिलाहरूले अनुहार छोपिने खालका पहिरन लगाउँदैनन्।
तर पछिल्ला वर्षहरूमा भने अनुहार ढाक्ने पहिरनप्रति आकर्षण बढेको बताइन्छ।
शृङ्खलाबद्ध आत्मघाती बम विस्फोटन हुनुभन्दा अघि पनि श्रीलङ्कामा अनुहार छोप्ने खालका परिहरनमा प्रतिबन्ध लगाउने माग गरिँदै आएको थियो।
एप्रिल २१ को घटनापछि यस्तो प्रतिबन्ध लगाउनुपर्ने माग अझ प्रबल बनेको थियो।
इसाईहरूको पर्व इस्टरका दिन गिर्जाघर र होटलहरूमा बम विस्फोटन गराइएको थियो। ती घटनामा परी कम्तीमा दुई सय ५० जनाको ज्यान गएको थियो।
उक्त घटना त्यहाँको अतिवादी इस्लामिक समूह न्याश्नल तौहिद जमातले गराएको सरकारको दाबी छ।
घटनापछि उक्त समूहका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाइसकेको छ।