नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले लिएको विकास र समृद्धिको सङ्कल्पलाई दोष दिएर जनता भड्काउने छुट कसैलाई नभएको बताउनुभएको छ । उहाँले ठूलो त्याग र बलिदानपछि आएको राजनीतिक परिवर्तन र त्यसका उपलब्धिलाई संस्थागत गरी देशलाई समृद्ध बनाउनुको अर्काे विकल्प नभएकाले विकास निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गर्नुभयो ।
आज राजधानीमा आयोजित गन्तव्य नेपाल ग्रुपको १५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताले बनाएको संविधान, जनताले ल्याएको परिवर्तन, जनताले लिएको विकास र समृद्धिको सङ्कल्पलाई दोष दिई त्यसबाट जनतालाई भड्काउने कुनै ठाउँ छैन, सबै केन्द्रित भएर समृद्धि र विकास निर्माणमा अगाडि बढौँँ ।” राजनीतिक क्रान्ति समाप्त भएर आर्थिक क्रान्तिको यूग शुरु भएको बताउँदै अध्यक्ष दाहालले नेपालको विविधताबारे विश्वभरि जति राम्रो प्रचार गर्न सक्यो त्यति नै गुणात्मकता आउने र त्यसको प्रचुर सम्भावना रहेकोसमेत उल्लेख गर्नुभयो ।
“विकासको निम्ति राजनीतिक नेतृत्वको तहबाट आउँदो १०,२० वर्षमा एउटा क्रान्ति गर्ने सङ्कल्पमा छौंँ, तपाईहरुको सहयोग मिलिरह्यो भने हामी बाँच्दाबाँच्दै यो देशमा ठूलो आर्थिक क्रान्ति आउँछ, हामी सबै मिलौँ”, उहाँले भन्नुभयो । सबैभन्दा अग्लो हिमालमात्रै नभई संसार कै महान् दार्शनिक गौतमबुद्ध, पौराणिक समयमा भारत र श्रीलङ्कासम्म संस्कृति तथा सभ्यताको सन्देश दिने जानकी, तिब्बत र चीनमा नयाँ संस्कृति र दर्शन फैलाउने भृकुटी नेपालमै जन्मेको स्मरण गर्दै उहाँले पुर्खाको त्यागले नेपालको शिरमाथि उठेको जिकिर गर्नुभयो ।
उहाँले मुलुकमा आधुनिक राजनीतिक लोकतन्त्रको नयाँ अभ्यासको थालनी भएको उल्लेख गर्दै बलियो सरकार बनेर एउटा राजनीतिक वातावरण निर्माण भएकाले अबको बाटो विकास र समृद्धि नै भएको बताउनुभयो । अध्यक्ष दाहालले नेपालाई प्रकृतिले प्रचुर साधन स्रोत प्रदान गरेको, बहुआयामिक विविधता दिएको र विविधतामा पनि सानदार एकताको संस्कृति रहेकाले यसलाई सदुपयोग गरेर विकासको गति बढाउनुपर्ने आश्यकता औँल्याउनुभयो । हिमालका जडीबुटी, नदीनाला, सुन्दरता, ऐतिहासिक र धार्मिक स्थान संसारभरिका मानिसका निम्ति आकर्षणको केन्द्रबिन्दु बन्न सक्ने अध्यक्ष दाहालको धारणा थियो ।
बुद्ध जन्मेको देश हुनुको नाताले पनि संसारभरिका जुनसुकै धर्म सम्प्रदायका मानिसको आकाङ्क्षा एक चोटी लुम्बिनी आई शान्तिको सन्देश लिएर जाने रहेको उहाँको भनाइ छ । जुन हिसाबले सम्पदालाई सदुपयोग गर्नुपर्ने हो विगतमा हुन नसके पनि अहिले आएको ऐतिहासिक अवसरलाई गुम्न दिन नहुनेमा उहाँको जोड थियो