नरेन्द्र मोदीले लिए दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको सपथ

नरेन्द्र मोदीले लिए दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको सपथ
अन्तर्राष्ट्रिय समाचार

भारतमा नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन् ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा विदेशी पाहुनासहित झण्डै ६ हजार व्यक्तिका बीच भारतीय राष्ट्रपति रामनाथ कोविन्दले बिहीबार नरेन्द्र मोदी र मन्त्रिमण्डलका सदस्यहरुलाई सपथ खुवाएका हुन् । नरेन्द्र मोदीले भारतको १५औँ प्रधानमन्त्रीका रुपमा सपथ लिएका हुन् ।

नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा किर्गिस्तानका राष्ट्रपति सुरोनबी जीनबेकोव तथा बिमस्टेक राष्ट्रका सरकार प्रमुखहरु उपस्थित भएका छन् ।

मोदीको सपथ ग्रहणमा सहभागी हुने विशिष्ट पाहुनाहरुमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भुटानका प्रधानमन्त्री लोते छिरिङ, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा र मौरिससका प्रधानमन्त्री प्रविन्द जगनाथ रहेका छन् ।

पहिलो कार्यकालमा नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) देशका सरकार प्रमुखलाई बोलाइएको थियो ।

त्यसबेला नेपालबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला तथा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरीफलगायतका सार्क नेताहरु सहभागी थिए ।

यसपटक भने पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भारतले निम्तो नै पठाएन । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने विशेष कारणवश सहभागी हुन नसक्ने जनाएकी थिइन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धी तथा यूपीए अध्यक्ष सोनिया गान्धी पनि उपस्थित थिए । त्यस्तै खेलाडी तथा बलिउडका कलाकारहरु पनि सपथ ग्रहण समारोहमा उपस्थित थिए ।

Post Comment