अमेरिका र चीनबीच व्यापार युद्ध उत्कर्षमा पुगेको छ। अमेरिकाले भर्खरै चीनविरुद्ध अर्काे कठोर निर्णय लिएको छ। उसले आफ्नो देशमा रहेको प्रमुख सामाजिक सञ्जाल फेसबुकलाई चिनियाँको प्रमुख दुरसञ्चार मोबाइल कम्पनी हुवावेविरुद्ध उत्रिन बाध्य पारेको छ। अमेरिकी नीति शिरोधार्य गर्दै फेसबुकले हुवावेका नयाँ स्मार्टफोनमा आफूलाई प्रतिबन्ध गरेको छ। अब फेसबुक, ह्वाट्सएप, इस्टाग्राम एप हुवावेका मोबाइलमा प्रतिबन्धित हुने छन्।
फेसबुकले आफ्ना एप अब बन्ने हुवावेका नयाँ फोनमा ‘प्रि–इन्स्टल’ व्यवस्था हटाउने निर्णयमा पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ। फेसबुक कम्पनीको भगिनीसंस्थाका रूपमा रहेका ह्वाट्स एप र इन्स्टाग्रामका एपमा पनि यो निर्णय लागु हुनेछ। फेसबुक तथा इन्स्टाग्राम एप नै नचल्ने भएपछि विश्व बजारमा हुवावे फोनको प्रयोगमा कमी आएको छ। रिपोर्टअनुसार यो व्यवस्थाले हुवावेलाई आर्थिक संकटको अवस्था सिर्जना हुनसक्ने विश्लेषकहरुले अनुमान गरेका छन्।
गत मे महिनामा अमेरिकाले आफ्ना देशका कम्पनीहरूलाई सुरक्षा जोखिम रहन सक्ने बताउँदै विदेशी दूरसञ्चार प्रदायकहरूसँग सहकार्य नगर्न निर्देशन दिएको थियो। यसअघि हुवावेले अब बनाउने फोनमा गुगलका प्लेस्टोर, जिमेल, गुगल म्याप र युट्युब एपहरू राख्न नपाउने भएको थियो।
अमेरिका र चीनबीच जारी व्यापार युद्ध र पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूले कारोबार गर्न नपाउने विदेशी कम्पनीको सूचीमा हुवावेलाई राखेको थियो। हाल हुवावे मोबाइलका प्रयोगकर्तामा कुनै पनि द्वविधा नराख्न हुवावेले आग्रह गरिसकेको छ। कम्पनीले बारम्बर हालका प्रयोगकर्तालाई अहिलेको प्रतिबन्धले असर नगर्ने कम्पनीले दाबी गर्दै आएको छ।