अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ कम्पनी हुआवेलाई अमेरिकाका प्रविधि कम्पनीहरूसँग कारोबार गर्ने अनुमति दिएका छन् ।
चिनियाँ समकक्षी शी चिनफिङसँग सोचेभन्दा राम्रो वार्ता भएको भन्दै उनले शर्त तेर्स्याउँदै हुआवेमाथिको लगाम खुकुलो बनाएका हुन् ।
हुआवेलाई कारोबार छुट दिएको बदलामा चीनले अमेरिकी किसानहरूबाट ठूलो मात्रामा कृषिजन्य उत्पादन खरिद गर्ने सहमति गरेको ट्रम्पले बताए । अमेरिकाका ठूला प्रविधि कम्पनीहरूले हुआवेमाथिको प्रतिबन्ध हटाउनका लागि पैरवी गरेको उनले बताए ।
शी र ट्रम्पबीचको बहुप्रतीक्षित बैठकले विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापारयुद्ध र हुआवेका विषयमा भएको तनाव मत्थर पार्ने अपेक्षा गरिएको थियो । ट्रम्पले अहिले लगाइएको आयातकर नबढाउने र सम्झौता वार्ता निरन्तरता दिने बताए ।
सम्झौता हुँदै गर्दा अमेरिकाले चीनलाई थप अमेरिकी उत्पादन किन्न दबाब दिइरहेको छ । विशेषगरी कृषिजन्य उत्पादन किनेर व्यापार असन्तुलन घटाउन अमेरिकाले आग्रह गरेको हो ।
बेइजिङले चाहिँ ट्रम्पको संरक्षणवादी नीति र उनले २५० अर्ब डलर बराबरको चिनियाँ सामानमा लगाएको आयातकरबाट दुवै पक्षलाई घात हुने र वैश्विक व्यापार स्थिरतालाई पनि हानि पुग्ने बताएको छ ।