लोकप्रिय सामाजिक सञ्जाल ट्विटरले आगामी दिनहरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत सम्पूर्ण राष्ट्र प्रमुखहरुको ट्विट निशानामा पर्न सक्ने बताएको छ । सार्वजनिक हित विपरीत ट्विट गरी ट्विटरको नियम तोड्ने सबै प्रमुखहरु लक्षित हुन सक्ने कम्पनीले बिहीबार बताएको हो ।
यस्तोमा ट्विटरको यस नीतिले सबैभन्दा बढी ट्रम्पलाई प्रभावित गर्न सक्ने बताइएको छ । राष्ट्रपति ट्रम्प, बारम्बार ट्विटरको नियमलाई चुनौती दिँदै आएका छन् । उनका थुप्रै ट्विट सामाजिक स्तर विपरीत भएकामा गुनासो आइसकेको छ । यद्दपी विगतमा ट्विटरले ट्रम्पसहित सबै राष्ट्रप्रमुखलाई गल्तीका बाबजुद अनलाइन रहन छुट दिएको ट्विटरका प्रवक्ताले सीएनएनसँग बताएका छन् । राष्ट्रपति वा प्रधानमन्त्रीको ट्विट जनताका लागि सधैँ चासोको विषय हुने विश्वास गर्दै ट्विटरले कुनै कडाइ लागु गरेको थिएन ।
तर अर्कोतर्फ ट्रम्पको ट्विट पनि कारबाहीमा पर्नुले कम्पनीका प्रमुखलाई अनेकौँ विवादमा तान्न सक्ने बताइएको छ । ट्रम्पसहित वासिङटनका थुप्रै रिपब्लिकनले प्राविधिक कम्पनीहरु कन्जरभेटिबको विरुद्धमा रहेको भनि दाबी गर्ने गरेका छन् जसको कुनै प्रमाण भने छैन । तर ट्विटरका प्रवक्ताले सो निर्णय कुनै विवाद उत्पन्न गराउन नभएर नियम तोड्नेहरुहरुबारे स्पष्ट जानकारी गराउनका लागि रहेको बताएका हुन् ।
यस अन्तर्गत ट्विटरले लक्षित ट्विटलाई गैरजिम्मेवारपूर्ण व्यवहार प्रस्तुत गरेको भनि लेबल गर्नेछ तर सो ट्विट डिलिट भने हुनेछैन । यता हिंसा, दुर्व्यवहार, घृणा फैलाउने किसिमका ट्विट भने अहिले जसरी नै हटाइनेछन् किनकि त्यस्ता ट्विट जनचासोका विषय हुँदैनन् । तिनको निरीक्षण ट्विटरका प्रतिनिधिहरुले गर्नेछन् । यसबाहेक लेबल गरिएका ट्विट प्रयोगकर्ताको फिडमा आउने सम्भावना कम रहने बताइएको छ । ट्विटरले गत मार्चमै आफ्नो सुरक्षा नीतिमा परिवर्तन ल्याउनेबारे विचार गरिरहेको बताएको थियो ।