अमेरिकाका लागि ब्रिटेनका राजदूत सर किम डारकद्वारा राजीनामा

अमेरिकाका लागि ब्रिटेनका राजदूत सर किम डारकद्वारा राजीनामा
अन्तर्राष्ट्रिय समाचार

अमेरिकाका लागि बेलायती राजदूत किम ड्यारोकले राजीनामा दिएका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएपछि राजीनामा दिएको बुधबार जानकारी दिएका हुन्।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘अयोग्य र असफल’ भएको टिप्पणी गरेको सार्वजनिक भएपछि ट्रम्प र किमबीच विवाद सुरु भएको थियो।

बेलायती विदेश मन्त्रालयका अधिकारीलाई बुझाएको राजीनामा पत्रमा किमले ट्रम्पसँगको सम्बन्ध सुधार्न ‘असम्भव’ देखेर आफूले राजीनामा दिनुपरेको उल्लेख गरेका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

उनले सम्बन्ध सुधार र बेलायती चासोका बारेमा बुझाउन पटकपटक प्रयास गरे पनि सफल हुन नसकेको पनि राजीनामा पत्रमा उल्लेख गरेका छन्। ‘मैले मेरो भूमिका राम्रोसँग निर्वाह गर्न अहिले असम्भव जस्तै देखिएको छ, त्यसैले मैले पदीय जिम्मेवारी त्याग्ने निर्णय गरेको छु,’ पत्रमा भनिएको छ।

बेलायत र अमेरिकाबीचको परिस्थितिलाई सहज बनाउन नयाँ राजदूतबाट सजिलो हुने विश्वास लागेको उनले बताए।

उनको राजीनामाका बारेमा प्रधानमन्त्री थेरेसा मेले संसद्‌मा जानकारी पनि गराएकी छिन्। उनले राजदूत किमले विगतमा राम्रो जिम्मेवारी निर्वाह गरेको भन्दै धन्यवादसमेत दिइन्।

ट्रम्पको आलोचना गरिएको किमको इमेल केही दिन अगाडि सार्वजनिक भएको थियो। इमेल सार्वजनिक भएसँगै ट्रम्पले पनि राजदूत किमको आलोचना गरेका थिए। रासस/एएफपी

Post Comment