विषादी परीक्षण रोक्ने भारतको पत्रबारे म भ्रममा रहेछु : प्रधानमन्त्री

विषादी परीक्षण रोक्ने भारतको पत्रबारे म भ्रममा रहेछु : प्रधानमन्त्री
राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले आयातित फलफूल र तरकारीको विषादी परीक्षण रोक्न भारतीय पक्षले पठाएको पत्रबारे आफूले पछिमात्र थाहा पाएको दाबी गरेका छन् । भारतीय पक्षले पठाएको पत्रबारे आफूलाई सुरुमा थाहै नदिएर गुमराहमा राखिएको उनको भनाइ थियो ।

नेपाल टेलिभिजनबाट प्रसारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ । त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो ।’

प्रधानमन्त्रीको हैसियतमा आफूले त्यसबारे जानकारी पाउनुपर्नेमा कर्मचारी पंक्तिले भ्रममा राखेको हुनसक्ने ओलीको आशंका छ । ‘जानेर या नजानेर दुवै कारणले कर्मचारी पंक्तिबाट यस्तो भएको हुनसक्छ । र, मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, जेसुकै होस् मसँग त्यो कुरा आएन र मैले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुपर्थ्यो ।’

विषादी परीक्षण स्थगितको प्रस्ताव मन्त्रिपरिषदमा लग्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले पनि पत्रकार सम्मेलन गरी कर्मचारीहरूले आफूलाई गुमराहमा राखेको बताएका थिए ।

राजपत्रमा सूचना प्रकाशित गरी सरकारले खासगरी भारतबाट आयातीत तरकारी र फलफूलको विषादी परीक्षण गरेर मात्र नेपाल भित्राउन सुरु गरेको थियो । सोही निर्णयअनुसार कृषि मन्त्रालयले नाकामा कडाइ ग‍रेपछि भारतले पत्र पठाएरै र कर्मचारीहरुलाई भेटेर विषादी परीक्षण नगर्न दबाव दिएको थियो ।

त्यससम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानमन्त्री ओलीले भारतबाट कुनै प्रकारको दबाव नआएको बरु विषादी परीक्षण गर्ने प्रयोगशाला नभएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । कृषि मन्त्रालयले नाकामा कडाइ गरिरहेको बेला प्रयोगशाला नभएको भन्दै मन्त्रिपरिषदले नै विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो ।

Post Comment