नेपाली कांग्रेसका सांसद गगन थापाले आफूविरुद्धमा अनर्गल प्रचार भइरहेको प्रष्ट पारेका छन्। उनले गत असार २३ गते साँझ एक अनलाइनमा प्रकाशित समाचार ‘गगन थापा अमेरिकी दूतावासका मुख्य सम्पर्क सुत्र’प्रति लक्षित रहँदै उनले सो समाचार नयाँ नभएको बताएका हुन्। उनले विकिलिक्सले २०६८ भाद्र १३ मा सार्वजनिक गरेको सूची नयाँ नभएको खुलाएका छन्।
‘यो खोल्नुपर्ने र खोज्नुपर्ने गर्नुपर्ने विषय नै होइन। उक्त जानकारी सार्वजनिक रुपमै पब्लिक डोमेनहरुमा हाल उपलब्ध छ। जसले पनि सहजै अध्ययन गर्न पाउँछन्। यस्तो अवस्थामा जुन खुलासा भयो, प्रमाणसिहत भनेर जुन रुपमा प्रस्तुत गरियो, उक्त कार्यमा अनलाइन वा पत्रकार कोही पनि झुक्किएका वा पहिलो पटक थाहा पाएर होइन। उनीहरुले त्यसमा रहेका सयौं पानामा गगन थापाबाहेक नेपालका थुप्रै विशिष्ट व्यक्तिहरुका बारेमा जानकारी पाउन सक्छन्, तर उनीहरु अन्य कसैको बारेमा भन्दैनन्। खोट यहींबाट देखियो,’ उनले भने।
उनले समाचारमा उल्लेख भएको अमेरिकी राजदूतावासको मुख्य सम्पर्क सुत्रका बारेमासमेत आफ्नो धारणा राखे। उनले ‘एक अमेरिकी प्रतिनिधिले आज मात्रै यस बारेमा जानकारी दिँदै यो आफूहरुको सामान्य बोलिचालीको भाषा रहेको बताएका’ उल्लेख गरे। यसमा पनि समाचार प्रकाशन गर्ने अनलाइन तथा पत्रकार नझुक्किएको उनको भनाइ छ। ‘यसमा पनि उहाँहरु झुक्किनुभएको भए, की एम्बेसी कन्ट्याक्ट खतरनाक कुरा हो भन्ने लागेको भए, त्यही पृष्ठमा भिम रावल, झलनाथ खनाललाई क्लोज कन्ट्या्कट, अझै कृष्णबहादुर महरालाई वर्क डिरेक्ट्ली विथ एम्बेसी, सुजाता कोइराला, विजयकुमार गच्छादार, प्रकाश सरण महत, सुरेन्द्र पाण्डेलगायतलाई की मिनिस्टर भनेर उल्लेख गरिएको छ। यस बाहेक दर्जनौं नेता, व्यापारी, पत्रकारलगायतको बारेमा लखिएको छ तर उनीहरु लेख्दैनन्, भन्दैनन्। यहाँ पनि उनीहरु झुक्किएका होइनन्, झुक्याउँछन्।’
पहिलो संविधानसभा चुनावअघि पार्टीका बारे अमेरिकी दूतावासलाई गोप्य जानकारी दिएको भन्ने कुरा आफूलगायतका नेताहरुले त्यतिबेलै सार्वजनिक मञ्चहरुमा भन्ने गरेको उनले स्मरण गरे।
‘यसमा पनि उनीहरु झुक्किएका होइनन्। गगनले भने भनेर राखिएको फोटोको मुनि रहेको मानवअधिकारकर्मी सुवोध प्याकुरेलले यस्तो भन्नुभयो, विष्णु रिमालले यस्तो भन्नुभयो भनेर राख्दैनन्। तत्कालीन परराष्टमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका बारेमा, माधव कुमार नेपाल, पुष्फकमल दाहालले भनेका थुप्रै कुरा र समाचार उनीहरु लेख्दैनन्, थुप्रै भेटघाटका बारेमा उल्लेख गर्दैनन्, उनीहरु झुक्किएका हुन्,’ थापाले स्पष्ट पारे।