हङकङमा चीनद्वारा सेना परिचालन गर्न सक्ने संकेत

हङकङमा चीनद्वारा सेना परिचालन गर्न सक्ने संकेत
अन्तर्राष्ट्रिय समाचार

चीनको रक्षा मन्त्रालयले हङकङमा शान्ति सुव्यवस्था कायम गर्न त्यहाँ तैनाथ आफ्नो सेनाले परिचालन गर्न सक्ने संकेत गरेको छ।

रक्षा मन्त्रालयका प्रवक्ता वु क्वानले बुधबार पत्रकार सम्मेलन गर्दै केही दिन अघि हङकङ स्थित आफ्नो संचार कार्यालयमा तोडफोड भएको घटनालाई नजिकबाट नियालिरहेको बताउँदै भने, ‘ उक्त घटना चीनको एक राष्ट्र दुई व्यवस्था विरुद्ध छ। त्यसलाई चीनले कुनै पनि हालतमा मान्यता दिने छैन।‘

एक पत्रकारले अबको स्थितिलाई चीनले कसरी सम्बोधन गर्छ भनेर सोधेको प्रश्नमा क्वानले हङकङको संविधानमा हङकङ सरकारलाई शान्ति सुव्यवस्था कायम गर्न र प्राकृतिक विपत्तीको अवस्थामा आवश्यक लागे चीन सरकारसँग सहयोगका लागि आग्रह गर्न सक्ने प्रावधान रहेको बताए।

बेजिङले पहिलोपटक आफ्नो जनमुक्त्ती सेना हङकङमा परिचालन गर्ने संकेत गरेको हो।

बेलायतबाट हङकङलाई चीनमा फर्काइएपछि हङकङमा चिनियाँ सेनाको एक कमान्ड तैनाथ रहेको छ। तर उनीहरु सार्वजनिक रुपमा सक्रिय रहेका थिएनन्। उनीहरु सार्वजनिक स्थानमा सैन्य पोशाकमा प्रस्तुत हुदैन थिए।

मंगलवार हङकङ सरकारले हङकङको संसद भवन र चीनको संचार कार्यालयमा चिनियाँ सेना परिचाल गर्ने समाचार खण्डन गरेको थियो।

विगत एक महिनादेखि हङकङमा सरकार विरोधी आन्दोलन भइरहेको छ। हङकङमा पक्राउ परेका मानिसलाई सजिलै मेनल्यान्ड चाइनामा सुपुर्दगी गर्ने प्रावधान सहितको विधेयक सरकारले सदनमा लगेपछि प्रदर्शन भएको थियो। प्रदर्शन उग्र बन्दै गएपछि सरकारले विधेयक स्थगन गरेको थियो। यद्यपि, आन्दोलनकारीहरु भने विधेयक स्थगनमात्रै नभइ फिर्ता नै हुनुपर्ने र हङकङको कार्यकारी प्रमुख क्यारी ल्यामले राजीनामा दिनुपर्ने माग गर्दै आन्दोलन रोकेका छैनन्।

Post Comment