राजधानीका दुई विद्यालयमा बम विष्फोट, पाँचवटा स्कुलमा बम फेला

समाज

आश्विन ४, २०७३ राजधानीमा दुई वटा स्कुलमा मंगलबार बिहान बम विष्फोट भएको छ । पाँचवटा स्कुलमा बम फेला परेको छ । बिष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । जोरपाटीस्थित मनकामना स्कुल र आकाशदीप स्कुलमा बम विष्फोट भएको प्याब्सनका महासचिव बीके ढुंगानाले जानकारी दिए । यसैबीच सानेपाका रेडियन रिडर्स एकेडेमी, डल्लुस्थित कञ्चनजंघा स्कुल, बौद्धस्थित राई स्कुल र इस्टपोल स्कुल, बालसंसार सेकेन्डरी स्कुल जोरपाटी, माकलबारीमा पनि शंकास्पद वस्तु फेला परेको छ । रेडियन स्कुल प्याब्सनका महासचिव बीके ढुंगानाको हो ।

प्रहरीले विष्फोट गराएको आशंकामा दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए । विस्फोट गराइएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्युनिस्ट फोर्स नेपाल लेखिएको को पर्चा छरिएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको अखिल क्रान्तिकारीका उपत्यका संयोजक लोकेश बिश्वकर्मा आफ्नो संगठनले यस्तो कुनै घटना नघटाएको दाबी गर्दै आफ्नो संगठनले गर्ने संघर्षको स्वरुप र तरिका अहिले यस्तो नरहेको बताए । आफ्नो संगठन लाई जबर्जस्ति जोड्न खोजेको प्रती गम्भीर ध्यानाकर्षण भएको बताए । यसैबीच मंगलबार बिहान ११ बजे प्याब्सन, एन प्याब्सन र हिसानको आकस्मिक बैठक बोलाइएको छ ।