पार्टी भित्र ओलीको व्यापक विरोध, राजीनामाको माग, अविश्वासको प्रस्ताव दर्ता गर्ने सम्मको धम्कि

राजनीति

 

६ असोज ,काठमाडौं । एमाले उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी ओलीको नैतिकतामाथि प्रश्न उठाउँदै संसदीय दलको नेताबाट राजीनामा नदिए उनीविरुद्ध अविश्वासको प्रस्ताव पेस हुनसक्ने बताएका छन् ।

‘एक व्यक्ति, एक पद’को नारा अघि सारेर दलको नेता बने पनि आफूलाई जे गर्दा फाइदा हुन्छ त्यही पद्धति हो भन्ने कुरा अध्यक्ष ओलीले स्थापित गर्न खोजेको भन्दै भुसालले उनको नैतिकतामाथि गम्भीर प्रश्न उठाएका हुन् । स्थायी समितिको मंगलबारको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि २६ पृष्ठको पूरक प्रस्ताव राख्दै भुसालले नवौँ महाधिवेशनयता पार्टीभित्र झाँगिँदै गएको गुटबन्दी अन्त्यको उपायसहित लिखित प्रस्ताव राखेका छन् ।

केन्द्रीय कमिटीमा छलफलका लागि स्वीकृति मागेका भुसाललाई स्थायी समितिले प्रस्तुतिका लागि अनुमति भने दिएन । अध्यक्षको प्रस्तावअनुसार उनको प्रस्तावमाथि स्थायी समितिकै अर्को बैठकमा छलफल हुनेछ । ‘तत्कालीन स्थायी कमिटी सदस्य केपी ओलीले ‘एक व्यक्ति, एक पद’ नै लोकतान्त्रिक विधि हो भन्ने नारा दिनुभयो र निर्वाचनमा तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गरेर दलको नेता हुनुभयो । नवौँ महाधिवेशनमा केपी ओली पार्टी अध्यक्ष पनि बन्नुभयो । पार्टी अध्यक्ष नै दलको नेता हुनुपर्छ भन्ने मलगायत अरू कमरेडहरूले भनेजस्तै भयो । तर, त्यो उल्टो तरिकाले भयो । पद्धति बसाल्ने हिसाबले भन्ने हो भने या त उहाँले नै भनेको ‘एक व्यक्ति, एक पद’ का आधारमा केपी ओलीले संसदीय दलको नेताबाट राजीनामा दिनुपथ्र्यो या त ‘एक व्यक्ति, एक पद’ को नारा नै गलत थियो भन्नुपथ्र्यो,’ भुसालले नैतिकताको प्रश्न उठाउँदै भनेका छन्, ‘तर, हामीले दुवै गरेनौँ । यसले आफूलाई जे गर्दा फाइदा हुन्छ त्यही पद्धति हो भन्ने कुरा स्थापित हुन्छ ।’

संसदीय दलको नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदा अध्यक्षले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने दिन आउन सक्ने भन्दै उनले भनेका छन्, ‘कसैले अहिले नै संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्‍यो भने केन्द्रीय कमिटीले के गर्छ ? वस्तुतः हाम्रोजस्तो मुलुकमा पार्टी प्रमुख नै संसदीय दलको नेता हुने पद्धतिमा जानुपर्छ । नत्र यही कुरा भोलि प्रादेशिक र स्थानीय तहका संरचनाहरूमा पनि जान्छ र आमअराजकताको ढोका खुला रहन्छ ।’

महासचिव पोखरेलमाथि कडा प्रहार

भुसालले केन्द्रीय सचिवालयका प्रमुख महासचिव ईश्वर पोखरेलमाथि प्रहार केन्द्रित गरेका छन् । पार्टी विधानको धारा र उपधाराहरू नै किटेर उनले महासचिवले सचिवालयलाई काम ‘पंगु’ बनाउन खोजेको आरोप पनि लगाएका छन् ।

‘सचिवालयसँग सम्बन्धित विधान र नियमावलीका यी व्यवस्था कहीँ, कतै र कहिल्यै पनि लागू गरिएको छैन, गरिँदैन । प्रथमतः बैठक नै राखिँदैन, कहिले कहीँ आयोजना गरिने बैठक पनि केन्द्रीय सचिवालयको बैठक भन्न लायक हुँदैनन्,’ भुसालले भनेका छन्, ‘जुन विषयमा बैठक बस्नुपथ्र्यो ती विषयमा बैठक बस्दैन, तर सचिवालयको काम कहीँबाट भइरहेको छ भने त्यो कुन ठाउँ हो जसले यी काम गरेको छ ? पार्टीको औपचारिक निकायको काम कहाँ, कसले गरेको छ त्यो औपचारिक रूपमा थाहा छैन । कैयौँपटक स्थायी कमिटीको बैठकमा सचिवालयको विषयमा कुरा भएको छ, तर लागू गरिँदैन ।’ नयाँ पत्रिकादैनिकमा खबर छ ।