भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङसमक्ष खोटाङ्गे नेताको टोलीले पाँच वटा लिखित माग राखेका छन् । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईसहितको टोलीले मन्त्री नेम्बाङलाई भेटेर आफ्नो जिल्लाको भौतिक पूर्वाधार विकाससम्बन्धी पाँच वटा लिखित माग राखेका हुन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य रहनुभएका प्रतिनिधिसभा सदस्य भट्टराईले मन्त्री नेम्वाङलाई बुझाइएको ज्ञापनपत्रमा मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवा सडकखण्डमा पर्ने छेपेखोला, भालुखोला र मेवाखोलामा यथाशीघ्र मोटरेवल पुल निर्माण गराउन माग गरिएको छ । दिक्तेल–माम्खा सडकखण्डमा कालोपत्रको काम भइसक्दा पनि सो सडकखण्डको तीन वटा खोलामा निर्माण गर्नुपर्ने पुलको काम अघि नबढेकाले तत्काल प्रक्रिया अगाडि बढाइ दिन अनुरोध गरिएको सदस्य भट्टराईले बताउनुभयो ।
मन्त्री नेम्वाङलाई उहाँको निवासमै भेट्न पुगेका खोटाङ्गे टोलीले त्रिधार्मिकस्थल हलेसीको संरक्षण, विकास र गुरुयोजना कार्यान्वयन गर्न दुर्छिमस्थित छापडाडा आसपासबाट सडक डाइभर्ट गरी हलेसी क्षेत्र जोगाउँदै तुवाचुङ नजिक निकाल्न माग गरेका छन् । ध्यानाकर्षण टोलीले खाल्डाखुल्डी कारण आवतजावतमा समस्या रहेको जयराम–हलेसी सडकखण्डको सुधार वा स्तरोन्नति तथा लामो समयदेखि बन्न नसकेको घुर्मी–चतरा सडक यथाशीघ्र निर्माण गर्न माग गरेका छन् ।
मन्त्रालयको स्वीकृत कार्यक्रममा रहेको दूधकोशीको कुनैघाट र घोपाटारमा निर्माण गरिने पक्की पुलको टेण्डर (आशयपत्र आह्वान) मा भएको बिलम्बको कडा आपत्ति जनाउँदै तत्काल टेण्डर आह्वान गर्न माग गरिएको सदस्य भट्टराईले बताउनुभयो । “हामीले राखेका मागका विषयमा मन्त्रीज्यू गम्भीर हुनुहुन्छ”, उहाँले भन्नुभयो, “अहिलेको सरकारका कामकाजी र लोकप्रिय मन्त्रीज्यूबाट यथाशीघ्र काम हुने अपेक्षा गरेका छौँ ।” ध्यानाकार्षण टोलीका अनुसार मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकले कुनैघाट र घोपाटारमा निर्माण गरिने पुलका लागि तत्काल टेण्डर हुने आश्वासन दिनुभएको छ । कुनैघाट उदयपुरको लिम्चिङबुङ गाउँपालिका र घोपाटार ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका जोड्ने सडकखण्डमा पर्छ ।
तीन वर्षअघि पुलका लागि सर्भेक्षण सम्पन्न गरिएपनि डिजाइन स्वीकृतिमा भएको ढिलाइका कारण दिक्तेल–चखेवा सडकखण्डको तीनवटा खोलामा पुल निर्माण हुन नसकेको कालोपत्रको काम गर्दै आएको ठेकेदार कम्पनी गोल्डेनगुडका प्रतिनिधि साङ्गे शेर्पाले बताउनुभयो । सडक कालोपत्र भइसक्दा सोही सडक खण्डमा पर्ने खोलामा पुल नहुँदा आवतजावत गर्ने यात्रुलाई सास्ती भएको छ ।