हरेक परदेशीले आफ्नु राज्य नै नभएको अनुभव गरीरहेका छन: महेश नेपाल

हरेक परदेशीले आफ्नु राज्य नै नभएको अनुभव गरीरहेका छन: महेश नेपाल
विचार
लेखक : महेश नेपाल, हाल: अबुधाबी, युएई

हामी जुन देशमा छौँ त्यस देशमा हामी प्राथमीकतामै पर्दैनौ। हामी जुन देशको पासपोर्ट बोक्छौँ त्यस देशको पनि हामी प्राथमिकतामा परेनौँ । जुन देशले पनी पहिले उसको देशको आफ्नु नागरीक प्राथमिकतामा पार्ने रहेछ । जब दु:ख पर्छ, जब पिडामा परीन्छ त्यस बेला चाहिने हो साहारा । सामान्य अवस्थामा त दु:ख गरिन्छ, देशको लागी सकेको रेमीटेन्स तिरिन्छ । जब अप्ठ्यारो पर्छ, जब राज्यको साथको आवस्यकता पर्छ त्यस बेलानै राज्यको अनुभुत गर्न पाईदैन भने के को लागि गर्व गर्ने म नेपाली भनेर ? हातमा नेपालको पासपोर्ट बोकेको आधारमा मात्रै म नेपाली हुँ भन्न कर लागेको छ । पासपोर्ट हेर्दै, देश सम्झिँदै, मुटुमाथी ढुङ्गा राखेर धरधरी रोएर म नेपाली हुँ भन्नु पर्दाको पीडा शब्दमा ब्यक्त गर्नै सकिँदैन ।

बिश्वका हरेक देश आफ्ना नागरीक प्रती कति धेरै संबेदनशिल छन । कहिँकतै आपत पर्दा विमान पठाई पठाईकन उद्धार गर्छन । तर हाम्रो राज्य यति गैर जिम्मेवार बन्छकी मनको आक्रोश शान्त पार्न आफ्नै शरीरमा पेट्रोल छर्कीएर आत्म दाह गर्न मन लाग्छ । बरु देश बिहिन शरणार्थी भएर बाच्नुपर्दा मन बुझ्थ्यो होला तर हातमा नेपालको पासपोर्ट बोकेर राज्यलाई नै धिक्कार्नु पर्दाको पीडा परदेशमा फसीरहेका हरेक नागरीकलाई सोध्दा थाहा हुन्छ ।

के जनताले चाहेको शासन ब्यवस्था यस्तै थियो? यसैको लागि हजारौले ज्यान गुमाएका थिए ? के नागरीकता र पासपोर्ट दिएपछी राज्यको दायित्व सकियो? अप्ठेरो पर्दा काम नलागेको राज्य कहिले काम लाग्छ ? कतीपय परदेशीले सामान्य अवस्थामानै घर फर्कीन भनेर भिजा क्यान्सील गरेर बसेको ४० दिन हुन लागीसकेको छ । प्राय सबै मलहरु, होटेलहरु, स्कुलहरु बन्द छन । ती बेरोजगार ब्यक्तीहरु आँटो पिठो जे खाएर भएपनी आफ्नु देश फर्किएर आफ्नै पाखाबारीमा रमाउन चाहन्छन । पसिना वगाएर अलि अलि कमाएको पैसा रेमिटेन्स तिरेरै नेपाल पठाईहालियो । यतीबेला न परदेशी संग गाँठ छ, न आँट हिम्मतले देश फर्कीनको लागि हवाई उडान छ । आफ्नै देश नेपालले त हामी परदेशीको पीडा बुझ्दैन भने बिदेशीले हाम्रो पिडा कसरी बुझ्छन ?

प्राय देशका राजदुताबासहरु देशको ढुकुटी रित्याउदै तलब पड्काउछ तर परदेशीको फोन समेत न उठाएर कानमा तेल हालेर बस्छ । आफ्नु नागरीकको दु:खमा समेत केही गर्न नसक्ने राज्य र नेतृत्व के का लागि? के को लागि भोट हालेको हामीले? एकातिर परिवार तनाबमा रुने अर्को तिर परदेशी रोग, भोक र शोकले रुने । के जनताको आँशुको कुनै मूल्य हुँदैन ? हिजोको दिनमा राज्यबाट पिडित भैयो भनेर बन्दुक उठाउने हरुनै आज सत्तामा छन तर खै जनताको मर्म बुझेको ? कि सत्तामा पुगेपछी सबैको मन पत्थरको हुन्छ ? नेपालमा बसेर धैर्य गरौ, यस्तै छ अवस्था भनेर सान्तोना दिए जस्तो सहज छैन परदेशीको कष्टकर जीवन । न रोएर हुन्छ न कराएर हुन्छ यो कस्तो परीबन्धमा पारीस ए सरकार ! कतीन्जेल बहिरो बन्छस ?

Post Comment