नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो, थप १८९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो, थप १८९ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य

बितेको २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४०१ पुगेको छ ।

प्रवक्ता डा. देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा शनिबार सबैभन्दा बढी १ सय २४ जनामा पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका सबैभन्दा धेरै ७७ जना रहेका छन् । यस्तै धनुषका ७, झापा १, ललितपुरका १ जना, महोत्तरीका ४ जना र रौतहट ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै सर्लाहीका १७, सिरहाका ११ जना जनामा पनि पोजटिभ देखिएको छ । रुपन्देहीमा भएको परीक्षणमा ३६ जनाको पोेजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका मात्रै २९ जना रहेका छन् ।

विपि कोइराला राष्ट्रिय स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङमा १३ र कपिलवस्तुका ३ जनामा पोजेटिभ देखिएको छ । वीरगञ्जमा भएको परीक्षणमा बाराका १ र पर्साका २ जना जनामा पोजेटिभ देखिएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा पोजेटिभ देखिएको छ । विराटनगराको कोसी अस्पतालमा भएको परीक्षणमा संखुवासभाका २ जनाको पोजेटिभ देखिएको छ ।

यसैगरी प्रदेश नम्बर १ मा १ सय ३०, प्रदेश नम्बर २ मा ४ सय ४२, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा १७ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ९६, कर्णाली प्रदेशमा ६१ र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी १ हजार १ सय ७६ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको प्रवक्त डा. देवकोटाले बताए ।

पीसीआर विधिबाट अहिलेसम्म ६६ हजार ७ सय २९ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ लाख ७ हजार ५५ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीपीआर विधिबाट २ हजार ५ सय ७५ र आरडिटी विधिबाट १ हजार ५ सय ७७ जनाको नमुना परीक्षण भएको छ । प्रदेश नम्बर १ मा ११ हजार ७ सय ४७, प्रदेश नम्बर २ मा ६ हजार ८ सय १८, बागमती प्रदेशमा २५ हजार २ सय ३१ र गण्डकी प्रदेशमा ८ हजार ४ सय ५८ जनाको आरडिटी परीक्षण भएको छ ।

यस्तै प्रदेश नम्बर ५ मा २० हजार १ सय ८५, कर्णाली प्रदेशमा १२ हजार ९ सय ९९ र सुदूरपश्चिम प्रदेशमा २१ हजार ६ सय १७ जनाको आरडिटी परीक्षण भएको छ । सरकारले परीक्षणको दायरा पनि बढाएको जनाएको छ । अहिले देशभरीका २० भन्दा बढी प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ । शनिबार मात्रै विभिन्न प्रदेशमा ७७ हजार ४ सय थान विभिन्न प्रदेशमा आरडिटी किट पठाइएको प्रवक्ता देवकोटाले बताए । यस्तै प्रदेशहरुमा ६ हजार थान भिटिएम पनि पठाइएको छ ।

अहिले देशभरी १ लाख १० हजार बढी क्वारेन्टाइनमा रहेका छन् ।

हालसम्म कोरोना निको भएर २१९ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म ६ जना संक्रमितको मृत्यु समेत भएको छ ।

Post Comment