माओवादी केन्द्रले कार्तिकमा राष्ट्रिय भेला बोलायो

राजनीति

काठमाडौ, १० असोज । सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले कात्तिक १० र ११ गते राष्ट्रिय भेला बोलाएको छ । माओवादी हेडक्वाटरको आज बिहान पार्टी केन्द्रिय कार्यलय पेरिडाँडामा बसेको बैठकले कात्तिकमा राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो ।

सो भेलाले पार्टीको नयाँ राजनीतिक कार्य्दिशा तय समेत गर्नेछ । पुसमा गर्ने भनिएको पार्टी महाधिवेशन नयाँ सरकार गठनसँगै स्थगित भएपछि भेला आयोजना गर्न लागिएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनु भयो । भेलामा अध्यक्ष दाहालले पार्टीको नयाँ कार्य्दिशासहितको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ ।

हालको जम्बो महाधिवेशन आयोजक समितिलाई नै कायम राख्ने कि नयाँ संरचना बनाउने भन्ने विषयमा पनि भेलाले निर्णय गर्ने प्रवक्ता भुसालले बताउनु भयो । हालको झण्डै २५ सय जनाको महाधिवेशन आयोजक समितिलाई घटाउन माओवादी केन्द्रभित्र दबाव छ ।