बाढी पहिरोमा परी १६७ जनाको ज्यान गयो, ५६ अझै बेपत्ता

बाढी पहिरोमा परी १६७ जनाको ज्यान गयो, ५६ अझै बेपत्ता
समाज

युएस नेपाल न्युज । मनसुन सक्रिय भएयता बाढी पहिरोमा परेर अहिलेसम्म एक सय ६७ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा कालीकोटमा तीन जनाको शव पहिरोबाट निकालिएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक सय ६७ पुगेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिनुभयो ।

यस्तै जेठ ३० गतेदेखि अहिलेसम्म ५६ जना अझै हराइरहेका छन् । ९९ जना घाइते भएका छन् । सबैभन्दा धेरै सिन्धुपाल्चोकमा २० जना र सङ्खुवासभामा ११ जना हराइरहेका वस्तीले बताउनुभयो । उनीहरुको खोजी भइरहे पनि फेला पर्ने सम्भावना भने कम हुँदै गएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले बताउनुभयो ।

यसैबीच बुधबारदेखिको वर्षाका कारण आएको बाढीले कैलालीमा ६ हजारभन्दा धेरै घर डुबानमा परेका छन् । टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा रहेका घरहरु डुबानमा परेका हुन् । ती घरमा बस्ने मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यसैबीच बाढी पहिरोका कारण देशका विभिन्न ठाउँमा सडक भत्किँदा आवत जावत बन्द भएका छन् ।

Post Comment