युएस नेपाल न्युज । ‘जुनसुकै बेला नाका बन्द र लकडाउन हुन सक्छ’ स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डे काठमाण्डौ उपत्यकामा जुनसुकै बेला नाका बन्द गर्ने वा लकडाउन गर्ने अवस्था आउन सक्ने बताउनुहुन्छ ।
सङ्क्रमण बढेको ठाउँ विशेषमा लकडाउन गर्न सक्ने व्यवस्था रहेको भन्दै निर्देशक पाण्डे भन्नुहुन्छ ‘काठमाण्डौमा सङ्क्रमणको डरलाग्दो लक्षण देखिन थालेको छ, हामी थप परीक्षण र अनुसन्धान गरिरहेका छौं, यदि मानिस आउने क्रम रोकिएन, सङ्क्रमण बढ्दै गयो भने लकडाउन वा नाकाबन्दको निर्णय हुन्छ, यसका लागि सम्वन्धित मन्त्रालयहरुले जोखिमको आँकलन गरी निर्णय लिनेछन् ।’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पनि नागरिकको सुरक्षाका लागि सरकारले जुनसुकै उपाय अपनाउने भन्दै पहिलो कुरा हरेक व्यक्ति सचेत हुनुपर्ने बताउनुभयो ।
काठमाण्डौ उपत्यकाको जनजीवन लकडाउन अघिकै अवस्थामा फर्किन थालेको छ । सडकमा हिँड्नेहरुले मास्क कमै मात्र लगाउने गरेका छन् भने व्यक्तिगत दूरीको नियम पनि पालना भएको देखिंदैन । यस्तो अवस्थाले सङ्क्रमणको डर बढेको भन्दै विज्ञहरुले हरेक व्यक्ति सचेत हुनुपर्ने बताएका छन् ।