युएस नेपाल न्युज, मोरङ । रङ्गेली नगरपालिकामा एकै परिवारका १४ जनामा कोरोनाको सङ्क्रमण भेटिएको छ।
कोभिड–१९ को सङ्क्रमण थप फैलिन नदिन तीन दिन नगरपालिकाका विभिन्न वडामा बन्द आह्वान गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले नगरपालिकाको ४, ६ र ७ नम्बर वडा पूर्णरुपमा सिल गरिएको जानकारी दिनुभयो ।
केही दिनअघि मुख्य बजार क्षेत्रमा ७३ वर्षीय वृद्धको मृत्यु भएपछि भेला भएका एकैपरिवारका १४ जनामा सङ्क्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । मृतकको घर पुग्ने र परिवारका अन्य सदस्यको पहिचान गर्दै सबैको स्वाब नमुना सङ्कलन कार्य भइरहेको उहाँको भनाइ छ ।
मृतक परिवारका सदस्यहरु भारतको दिल्लीदेखि काठमाण्डौ हुँदै रङ्गेली घर आएका थिए । नगरपालिकाका अनुसार झण्डै एक महिनाअघि मृतकका छोरी दिल्लीबाट आएकी थिइन् ।
दिल्लीबाट आउने क्रममा उनलाई विराटनगर वडा नम्बर १० बाट होटलमा बनाइएको क्वरेण्टीनमा बस्नको लागि अनुमति दिएको नगरपालिकाले जनाएको छ । त्यही वडाको सिफारिसको आधारमा उनी रङ्गेली आएको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
नगरपालिकाले बजार क्षेत्र, बजारको पूर्व मधुवनी चोकदेखि सुनवर्षा नगरपालिका पश्चिम, चिस्याङ खोला, उत्तरमा निचामारी वक्राह खोला पुल र दक्षिणमा भन्सार गेट क्षेत्रभर सिल गरेको हो ।
त्यसैगरी रङ्गेली अस्पतालको आकस्मिक सेवाबाहेकका सबै सेवा अर्काे सूचना नआएसम्मका लागि बन्द गरिएको छ ।