नेपालको झण्डा जलाउनेको खोजी तीव्र, भिडियोको सर्वत्र बिरोध

नेपालको झण्डा जलाउनेको खोजी तीव्र, भिडियोको सर्वत्र बिरोध
समाज

काठमाण्डाै – नेपालको झण्डा जलाएर बनेको एउटा भिडिओको चर्को विरोध भएको छ ।

मङ्गोल हप अफिसियल युट्युब च्यालनमा आइतबार अपलोड भएको भिडिओमा विभिन्न समुदायलाई अश्लिल भाषामा गाली गरिएको छ । भिडिओमा नेपालको झण्डामा आगो लगाएको देखिन्छ । भिडिओ श्री विष्णु आधारभूत विद्यालय, वाग्मती गाउँपालिका वडा नम्बर तीन सल्लेनीमा छायाँकन भएको देखिएको छ ।

देशको  झण्डा जलाएको र समुदायलाई भड्काउने हिसाबले आएको भिडिओ युट्युबबाट हटाएर गायकलाई कारबाहीको माग उठेको छ । सामाजिक सञ्जालमा भिडिओको सर्वत्र विरोध भइरहेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले ट्वीटमार्फत यस्ता गतिविधि गर्नेलाई कडा कारबाहीको माग गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पनि भिडिओको विरोध गर्दै तत्काल कारबाहीको माग गर्नुभएको छ ।

नेपाल प्रहरीले गायक र भिडिओमा अभिनय गर्नेको खोजी तीव्र पारिएको जनाएको छ । मङ्गलबार बिहानै जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरीका अन्य निकायलाई पनि गायक र भिडिओमा देखिएका अन्यको खोजीको लागि सर्कुलर भइसकेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले उज्यालोलाई जानकारी दिनुभयो ।

‘भिडिओ सुटिङ भएको ठाउँ प्रस्ट चिनिएको छ, अभिनय गर्नेको अनुहार पनि प्रस्ट छ, उनी छिटै पक्राउ पर्नेछन्’, प्रहरी प्रवक्ता कडायतले भन्नुभयो ।

Post Comment