पोखरामा कतै यात्रा नगरेकी महिलाको पनि कोरोनाले लियो ज्यान

पोखरामा कतै यात्रा नगरेकी महिलाको पनि कोरोनाले लियो ज्यान
स्वास्थ्य

युएस नेपाल न्युज । पोखरामा कतै यात्रा नगरेकी अर्थात् कुनै ट्राभल हिस्ट्री नभएकी कोरोना संक्रमित महिलाको उपचारको क्रममा ज्यान गुमेको छ ।

पोखरा– ११ की ३२ वर्षीया महिलाको कोरोना संक्रमण कारण ज्यान गुमेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको हो ।

७ भदौमा संक्रमण पुष्टि भएकी ती महिला पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचाररत थिइन् ।

उनको बिहीबार बिहान ८ बजे निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

संक्रमित महिलामा अन्य कुनै दीर्घरोग पनि थिएन ।

‘त्यस्तो कुनै रोग थिएन,’ उनले भने, ‘कोभिड नै हो । ट्राभल हिस्ट्री पनि छैन । तनहुँको बन्दीपुर पुरानो घर भई पोखरा– ११ चापपानीमा बस्ने भनेर लेखाएको छ ।’

योसँगै पोखरामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या तीन पुगेको छ । अस्पतालका निर्देशक डा. आचार्यका अनुसार तीन संक्रमितको अहिले आइसियूमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

पछिल्लो समय पोखरामा ट्राभल हिस्ट्रीविना नै संक्रमित हुनेको दर बढ्दो छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले ३ भदौबाट जारी गरेकोे निषेधाज्ञा १२ भदौमा सकिँदै छ ।

पोखरामा मात्र अहिलेसम्म कोरोना संक्रमितको संख्या दुई सय ७३ पुगेको पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले जानकारी दिए ।

Post Comment