काठमाण्डौ । सरकारले बजार कारोबार तथा व्यवसायिक स्थलमा उपभोक्ताको ज्वरो नाप्न भनिए पनि त्यसको पालना भएको पाइँदैन ।
विशेषगरी तरकारी बजार र खाद्यान्न पसलमा बिहान र बेलुकाको भिड बढ्ने गरेको छ । यस्ता पसलमा भौतिक दूरी समेत कायम गरेको पाइँदैन । दिनभरि पसल बन्द हुने भएपछि बिहान र बेलुका तरकारी र खाद्यान्न पसलमा उपभोक्ताको भीड बढ्ने गरेको हो ।
सरकारले कोरोनाको जोखिम थप बढ्दै गएकाले कारोबार तथा व्यवसायिक स्थलका प्रवेश विन्दुमा नै ज्वरो नाप्ने थर्मल गनको प्रयोग गर्न र ज्वरो देखिएकालाई परीक्षणका लागि पठाउन भनिए पनि धेरै ठाउँमा यसको प्रयोग भएको पाइँदैन ।
यस्तै व्यवसाय गर्नेले पनि पन्जा, मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न भनिएको छ । त्यसैगरी व्यवसायिक स्थलका कर्मचारी वा कामदारले कुनै ठाउँमा यात्रा गरेको भए काम फर्किनु पूर्व आफ्नो यात्राको विवरण व्यवस्थापनलाई बुझाउनु पर्ने, सरसफाईमा ध्यान दिनु पर्ने र अनलाइन माग संकलन र होम डेलिभरीलाई प्राथमिकता दिँदै दूरी कायम गर्न भनिएको छ ।
गएको साउन ३२ गते नै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना निकालेर स्वास्थ्य मापदण्ड पालना गर्न भनेको हो । विभागले कारोबार तथा व्यवसायिक स्थलमा तोकेको स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन हुने भने पनि अहिलेसम्म अनुगमन भएको छैन ।