बिचौलियाबाट किसानलाई उन्मुक्ति दिन कृषि थोक बजार निर्माण

बिचौलियाबाट किसानलाई उन्मुक्ति दिन कृषि थोक बजार निर्माण
समाज

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिचौलियाबाट किसानलाई उन्मुक्ति दिनका लागि कृषि थोक बजार निर्माण गर्न लागिएको बताउनुभएको छ ।

हेटौंडा ११ थानाभञ्ज्याङमा कृषि थोक बजार निर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उहाँले किसानको सिधा सम्पर्क बजारको रुपमा विकास गरिने बताउनुभयो । यो काम प्रदेश र स्थानीय तहकै महत्त्वपूर्ण योजनाको रुपमा रहेको पनि उहाँले बताउनुभयो ।

अहिलेको अवस्थामा उत्पादनमा जोड दिने तर बजारको व्यवस्था नगर्ने अवस्था रहेको उहाँकाे भनाइ छ ।

‘यो कृषि थोक बजार निर्माण भएपछि धेरै खालका समस्या समाधान हुनेछन् र धेरैले राेजगारी पाउनेछन्’, उहाँले भन्नुभयाे, ‘यसको निर्माणको काम निर्धारित समयमा सक्नुपर्छ, किसानको सिधा सम्पर्कको बजारको रुपमा विकास गरिनुपर्छ, यो अत्यन्तै आधुनिक बजार हो ।’

यसको लागि पैसाको अभाव हुन नदिने पनि उहाँले बताउनुभयो । कार्यक्रममा वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले यो सम्झौता महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले यही भदौ अन्तिम हप्तामा टेण्डर निकाल्ने तयारी रहेको पनि जानकारी दिनुभयाे ।

Post Comment