डोटी, असोज २०। यातायात ब्यबस्थापन समितिको आज बसेको बैठकले अस्थायी रुट पर्मिट पाएका सबै सडकमा अनिवार्य तोकिएको भाडादर कायम गर्न कडाईका साथ निर्देशन गरेको छ । ईलाका प्रहरी कार्यालय दिपायलमा बसेको बैठकले सो निर्देशन गरेको हो ।
यसअघि अस्तिमात्रै बसेको बैठकले तोकिएको भाँडादर आजबाट लागु गर्न यातायात ब्यबसायीलाई निर्देशन दिएको थियो । तर, राजपुर–वायल–चवरा चौतारा सडकखण्डको स्थिती नाजुक रहेको भन्दै यातायात ब्यबसायीले सो भाडादर कायम गर्न मानेका थिएनन । उल्टै आज बिहानैदेखी पहिलेको तुलनामा निकै बढी भाडा अशुलेका छन ।
यसैकारण प्रमूख जिल्ला अधिकारी केशवप्रसाद आचार्यले आज अकस्मात बैठक बोलाएका थिए । सो बैठकमा सडकको मर्मतका लागि भोलीदेखी नै डिभिजन सडक कार्यालय कुलपातेलाई डोजर पठाउन समेत निर्देशन गरेको छ । साथमा यातायात ब्यबसायीले भोलीदेखी नै सबै सडकहरुमा तोकिएकै भाडादरमा भाडा लिन कडाईका साथ निर्देशन गरिएको छ । यदि यसो नगरेको पाईए कडा कार्बाही गर्नेपनि निर्णयमा उल्लेख छ ।
यसबाहेक यात्रा गर्दा सबै यात्रुहरुलाई अनिबार्य टिकट पनि उपलब्ध गराउनुपर्ने निर्णयमा उल्लेख छ । साँझ ५ बजेबाट कुनै पनि ग्रामीण सडकमा सवारी नचलाउन समेत निर्दैशन गरिएको छ । यदि निर्णयको उलंघन भए कडा कार्बाही गरिने निर्णय गरिएको छ ।
उता बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रमूख प्रहरी उपरिक्षक दिल्लीराज विष्टले बनलेग–उच्चाकोट सडकखण्डमा सवारी चलिरहेको कुरा आएको बताउदै अब त्यहाँ चलेको पाईए कार्बाही गर्ने बताउनुभयो । सो सडकलाई अस्थायी रुट पर्मिट दिईएको छैन । सरकारले देशैभरका रुट पर्मिट नभएका सडकमा सवारी नचलाउन निर्दैशन गरेको छ ।
प्रमूख जिल्ला अधिकारी आचार्यले मापसेमा कडाईका साथ चेकिङ गर्न पनि ट्राफिक प्रहरी तथा प्रहरीलाई निर्देशन दिनुभयो ।