दसैँमा रु एक अर्ब रेमिटान्स भित्रियो

अर्थ​

म्याग्दी- म्याग्दीमा पछिल्लो एक महिनाको अवधिमा करिब रु एक अर्ब रेमिटान्स भित्रिएको छ।

दसैँ, तिहारजस्ता चाडपर्वमा घरखर्चका लागि विदेशमा रहेका म्याग्दीवासीले सो मात्रामा रेमिटान्स पठाएका हुन्। जिल्लामा रहेका १४ वटा बैंकका २० वटा शाखा र त्योभन्दा दोब्बर सङ्ख्यामा रहेका रेमिट कम्पनीका प्रतिनिधिले असोजमा अन्य महिनाको तुलनामा दोब्बर बढी रेमिटान्स भुक्तानी गरेको जनाएका छन्।

एउटा कम्पनी तथा शाखाले न्यूनतम् रु एक करोड ५० लाखदेखि बढीमा रु पाँच करोडसम्म रेमिटान्स भुक्तानी गरेका छन् । नेपाल राष्ट्र बैंकको पोखरास्थित क्षेत्रीय कार्यालयका अनुसार २०७१ को माघदेखि २०७२ को पुस महिनाको अवधिमा म्याग्दीमा रु पाँच अर्ब ८० करोड विप्रेषण भित्रिएको थियो।

चाडपर्वको समयमा विप्रेषण भित्रिने क्रम बढी हुने गरेको गरिमा विकास बैंकको बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले बताए। चाडपर्वमा उपभोग र किनमेलमा धेरै खर्च हुने गर्छ। विदेशमा रहेकाले समेत अन्य समयको तुलनामा बढी रकम पठाउने गरेका छन्।

म्याग्दीको करिब ३० हजार जनसङ्ख्या रोजगारी, अध्ययन र विभिन्न पेसा व्यवसायको सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका छन्।

Post Comment