खुल्ने भो १६ बर्ष बन्द उद्योग !

अर्थ​

१३ कात्तिक । १६ वर्षदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा आउने भएको छ । सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त लगानीमा बन्द रहेको उद्योग पुनः सञ्चालनमा ल्याउन लागेको हो ।
उद्योग मन्त्री नविन्द्रराज जोशीले सरकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले २५/२५ प्रतिशत लगानी गर्ने बताए । “चारवटै निकाय मिलेर उद्योग सञ्चालन गर्न लागिएको हो,” उनले भने, “सञ्चालन नगरे पनि त्यहाँ भएका कर्मचारीलाई तलब खुवाएर राख्नुपर्छ । तर, राज्यका निकाय मिलेर उद्योग सञ्चालन गरे रोजगारी पनि पाउने र सरकारको घाटा पनि कम हुन्छ ।”
मन्त्री जोशीका अनुसार पहिलो चरणमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी कर्मचारी र स्कुललाई आवश्यक पर्ने कपडा उत्पादन गर्ने योजना छ । उक्त योजना सफल भएपछि दोस्रो चरणमा बजारमा पठाउने गरी उत्पादन गर्ने मन्त्री जोशीले जानकारी दिए ।
सरकारी निकायले वार्षिक २ अर्ब रुपैयाँको कपडा खपत गर्छन । त्यति मात्रै उत्पादन गरेर उनीहरुलाई दिन सकियो भने पनि धेरै राम्रो हुने मन्त्री जोशीले जानकारी दिए ।
उनका अनुसार उद्योग सञ्चालनका लागि पहिलो चरणमा १० करोड रुपैयाँ लगानी आवश्यक पर्नेछ ।
उद्योगले वार्षिक रुपमा के÷कति उत्पादन गर्ने भन्ने बारेमा अहिले केही टुंगो नलागेको जोशीले बताए । “मन्त्रालयले कार्ययोजना बनाइरहेको छ । त्यसमा सबै उल्लेख हुन्छ,” उनले भने, “अहिल्यै यकिन भन्न गाह्रो छ ।”

Post Comment