१९ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज पोखरा आउदैछन् । नेपालको तीन दिने राजकिय भ्रमणको अन्तिम दिन उनी झण्डै तीन घण्टाको लागि पोखरा आउन लागेका हुन् ।
मुखर्जी काठमाडौंबाट जनकपुरहुदै पोखरा आउनेछन् । उनी बुद्ध एयरको विमान मार्फत दिउसो पौने १ बजे पोखरा आइपुग्ने कार्यक्रम छ । मुखर्जीको पोखरामा एउटा मात्रै कार्यक्रम छ । विमानस्थलमा अबतरण भएलगतै उनी दिवाभोजको लागि विरौटा स्थित होटल पोखरा ग्राण्ड जाने र त्यहा झण्डै दुई घण्टा आरामपछि दिउसो पौने तीन बजे रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।
सो कार्यक्रममा करिब १० हजार भूतपूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्ने कार्यक्रम छ । झण्डै एक घण्टाको कार्यक्रममा केहि नेपाली मौलिक नृत्य तथा भारतीय कलाकारको समेत प्रस्तुती रहने बुझिएको छ । मुखर्जी कार्यक्रम सम्पन्न भएपछि अपरान्ह ४ बजे काठमाडौं प्रस्थान गर्नेछन् । उनी आजै साझ पाँच बजे दिल्ली फर्किने कार्यक्रम छ ।
यसैविच मुखर्जीको भ्रमणलाई लक्षित गरी पोखरामा सुरक्षा ब्यवस्था कडा पारिएको छ । नगरक्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने मुखर्जी आवातजावत हुने रुटमा सबै सुरक्षा निकायका सुरक्षाकर्मीहरु तैनाथ छन् । उनको सुरक्षाका लागि झण्डै १५ सय सुरक्षाकर्मी परिचालन गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
भारतीय राष्ट्रपतिको पोखरा आगमनलाई भब्य बनाउने तयारी स्वरुप क्षेत्रीय प्रशासकको संयोजकत्वमा गठित मुल ब्यवस्थापन समिति र विभिन्न पाँच वटा उपसमितिले तयारी पूरा गरेका छन् । मुखर्जी विमानस्थलमा अबतरण भएपछि नागरिक स्तरबाट गरिने स्वागतलाई भब्य बनाउने गरी तयारी गरिएको छ ।
उनको सवारी रुटमा जलघडा राख्ने, सडक किनारमा विभिन्न जातीय झाकी सहित स्थानियद्धारा दुबै देशको झण्डा हल्लाउदै वाजागाजा सहित स्वागत गर्ने कार्यक्रम छ । उनी आवतजावत गर्ने सडकमा विभिन्न संघसंस्थाको सहयोगमा स्वागतद्धारा निर्माण गरिएको छ भने सवारी रुटमा अन्य सवारीलाई सञ्चालन गर्न नदिइने भएको छ । ट्राफिक प्रहरीले सवारीको समयमा अन्य बैकल्पिक रुट निर्धारण गरी सोहि रुटमा सञ्चालन गर्न आग्रह गरेको छ ।