फेसबुकमा बिज्ञापन गर्दै ठग्नेलाई प्रहरीले समात्यो

समाज

१३,मङ्सिर । वैदेशिक रोजगारीमा पठाउनेभन्दै फेसबुकमा विज्ञापन देखाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाकाअनुसार तिलक बहादुर गुरुङ,दिनेश गरुङ, डोर बहादुर थापा, विमल चौधरी, प्रदिप कुमार गुरुङ, बुद्ध स्याङ्तान र चन्द्र प्रसाद बस्नेत क्षेत्री समेत ७ जनालाई ठगी गरेका जिल्ला दोलखा मागापौवा गाविस–२ घर भई काठमाडौंको बौद्ध बस्ने दावा योञ्जन पक्राउ परेका हुन् ।

योञ्जनले विभिन्न दैनिक पत्रपत्रिकाहरुमा विभिन्न मेनपावर कम्पनीहरुले वैदेशिक रोजगारी सम्बन्धी दिएको विज्ञापनहरुको फोटो खिची आफ्नो फेसबुक वालमा सम्पर्क नम्बरहरु सहित राखी सातैजना पीडितलाई उक्त मेनपावर कम्पनी मार्फत दुवईमा सेक्युरीटीगार्डमा फ्री भिषा, फ्री टिकेटमा पठाउने आश्वासन दिइ ठगेका हुन् । प्रतिव्यक्ति ५५ हजार रुपैयाँसम्म खर्च लाग्ने भनी आकर्षक तलवको प्रलोभन देखाई पासपोर्ट र तीन लाख चौतिस हजार रुपैयाँ लिई सम्पर्कविहिन भएपछि पीडितमहाशाखामा दिएको उजुरीका आधारमा प्रहरीले छानविन गरी योञ्जनलाई पक्राउ गरेको हो ।

महाशाखाबाट खटिएको विषेश टोलीले योञ्जनलाई आइतबार राजधानीकै टेकुबाट पक्राउगरेको हो । प्रारम्भिक अनुसन्धानबाट योञ्जन कुनैपनि मेनपावर कम्पनीसँग सम्बद्ध व्यक्ति नभएको र उनले ठगी गर्न विज्ञापनहरुको फोटो खिची सोही फोटोलाई सम्पादन गरी आफ्नो सम्पर्क नम्बरहरु राखी सोझा व्यक्तिहरूलाई ठगी गर्ने गरेको खुल्न आएको प्रहरीले भनाइ छ ।उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाईएको प्रहरीले जनाएको छ ।

Post Comment