नेताहरुमा विश्वसनियता र इमान्दारीता बिल्कुलै छैन

विचार

राकेश कुमार शर्मा
विश्वमा नै हाम्रो मुलुक यस्तो मुलुक हो जो राजनीतिक हस्तक्षेपको रोगले पीडित र ग्रस्त भएको छ । यसको उपचार गर्न सक्ने कोहि पनि डाक्टर आजसम्म हाम्रो मुलुकमा जन्मेको छैन अब जन्म भएर पनि उपचार पाउन्जेलसम्म नेपाल नै रहने हो कि हैन भन्ने चिन्ता र द्विविधा बन्न पुगेको छ ।विद्यालय र क्याम्पस भनेको शिक्षाकोमन्दिर, पवित्र र शुद्ध ठाउँ हो । तर विद्यालयदेखि लिएर सहकारी आदि आदि जस्ता थुप्रै ठाउँहरुमा राजनीतिक हस्तक्षेपको रोगले ग्रस्त पारेको छ । जसले गर्दा आउने पिडीका नेपालमा बस्ने नागरिकहरु, युवाहरु, युवतिहरु,छात्र, छात्रा (विद्यार्थी) हरुको भविष्य कस्तो हुने भन्ने कुराको पनि प्रश्न चिह्न खडा गरेको छ ।

भारत जस्तो विशाल राष्ट्रमा प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० को नोटमा प्रतिबन्ध लगाएपछि भारतका राजनीतिक दलहरुका नेताहरु र नागरिकहरुले भारत बन्द १ दिन पनि गरेनन् । भारतीय नागरिकहरुले १००० र ५०० का नोट जलाए, समुन्द्र, नदीहरुमा फाले, ट्रेनको पटरीको लिगमा फाले र नोट च्याते तर भारत बन्द गरेनन् । १ दिनको बन्दले खर्बौ रुपैयाको नोक्सान र घाटा मुलुकलाई हुन जान्छ ।राजनीतिज्ञ नेताहरु त भारतमा रहेछन्। राष्ट्रहितका लागि मरिमेट्ने नागरिकहरु भारतमा पो रहेछन् । हाम्रो मुलुकका राजनीतिक दलहरुका नेताहरु खाते दर्जाका हुन् । नेताहरु भन्न पनि सुहाउँदैनन् । नेपालका नागरिकहरु कस्ता भने नेताहरुको लहैलहैमा लाग्ने, ठिक र बेठीक कुराहरुको निर्णय लिन नसक्ने क्षमता नभएका हुन् । मुलुक बन्दले राष्ट्रलाई घाटा र नोक्सान हुन जान्छ । मुलुकलाई घाटा र नोक्सान हुनु भनेको हरेक नेपाली नागरिकहरुलाई नै घाटा र नोक्सान व्यहोर्नु हो ।
हाम्रो मुलुकमा राजनीतिक हस्तक्षेपको रोगले विद्यालय, क्याम्पस, कार्यालय, अदालत, संस्था, संघ, अस्पताल, सहकारी र कलकारखानाहरु सबैलाई सखाप छिन्न भिन्न, भाँडभैलो, किचलो, आर्थिक अनियमितता (रकम हिनामिना) र पदको दुरुपयोग गर्ने काम भईरहेको छ । हरेक नचाहिँदो र आवश्यकता नभएको कुराहरुमा पनि राजनीतिक हस्तक्षेप हुन गयो भने मुलुक ध्वस्त हुन जान्छ । राजनीतिक हस्तक्षेपको परिणामस्वरुप हाम्रो मुलुक असफल राष्ट्रमा घोषणा हुने बेला निकट आईसकेको छ ।
मैले राजनीतिकको विषयवस्तुलाई खराब र गलत भन्न खोजेको होइन तर हाम्रो मुलुकको राजनीतिक दलहरुको नेताहरुमा विश्वसनियता र इमान्दारीता पन बिल्कुलै छैन । मुलुकलाई राजनीतिक हस्तक्षेपको रोगबाट निको र निर्मुल पार्न सक्ने आँट र हिम्मत कस्को ? मुलुकलाई राजनीतिक हस्तक्षेपको रोगबाट टाढा राख्न नेपालमा आँट र हिम्मत गर्न सक्ने नागरिकहरुको खाँचो रहेको छ ।

राकेश कुमार शर्मा

(स्वतन्त्र नेपाली नागरिक
हाल जिल्ला मकवानपुर,हेटौँडा उ.म.न.पा. २

Post Comment