संखुवासभा अन्तरास्ट्रिय मंच – अवधारणा र सम्भावना

विचार

bharatraiukउहिले हामी क्याम्पस पढ्दा ताका ( बि. सं. २०४५ तिर ) काठमान्डू धेरै बिरानो लाग्थ्यो, गाउँले र जिल्लाबासीको त कुरै नगरौं उता झापा, मोरंग अथवा पुर्बी जिल्लाका साथीहरु संग परिचय हुँदा पनि आफ्नै गाउँका झैँ लाग्थे । तिमी कुन ठाउँको हो भनेर कसैले प्रश्न गर्यो भने संखुवासभा जिल्ला भन्न पनि सकस पर्थ्यो किन भने “कहिल्यै नसुनेको जिल्ला रहेछ ” भन्ने प्रतिक्रिया धेरै पटक यो कानले सुनिसकेको थियो । राजधानीमा घर हुने संखुवास्भाली हरुलाई औंलामै गन्न सकिन्थ्यो, घर त हैन कसैले फ्ल्याट भाडामा लिएर बसेको थियो भने पनि उनीहरुको आर्थिक हैसियत उच्च मानिन्थ्यो ।

अहिले संखुवासभा जिल्ला भन्ने बित्तिकै नेपाल अधिराज्यभरी नचिन्ने सयादै होलान, नेपाल अधिराज्यकै सबै पक्षमा बिकाशको धेरै सम्भावना बोकेको पहाडी जिललाको रुपमा ख्याती कमाउने क्रम बढ्दो छ । विश्वकै पाँचौ अग्लो हिमाल मकालु, विश्वकै सबैभन्दा होचो उपत्यका अरुण उपत्यका, लालिगुरासहरुको राजधानी मिल्के डांडा, विश्वमै दुर्लभ मानिएको चरा काँडे भ्याकुर पाईने बरुण रास्ट्रिय निकुञ्ज आदि जस्ता महत्वपूर्ण पक्षहरुले संखुवासभाको नाम देशभित्र लोकप्रिय बन्दै गएको छ ।

त्यहि माथि अरुण तेस्रो, छिमेकी मुलुकहरु चीन (किमाथाङ्का) र भारत (जोगबनी) जोड्ने सबै भन्दा छोटो दूरी भएको राजमार्ग जस्ता हालसालै भएका बिकास योजनाका निर्णयहरुले पनि संखुवासभाको नाम अझ फराकिलो हुँदै गएको छ । बहुमुल्य जडीबुटीहरु यार्सागुम्बा, चिरायतो, दालचिनी, कुड्की, बिखुमा आदिको प्रचुरता त्यस्तै अलैंची खेती द्वारा आम्दानी बृद्धी जस्ता अन्य पक्क्षरुले पनि संखुवासभालाई आकर्षणको केन्द्र बनाउन टेवा दिएको छ । जिल्लाको नाम यसरि लोकप्रिय हुँदै जानुमा स्थानीय जिल्लाबासीहरुको योगदान र परिश्रमको अहम भूमिकालाई सबैले नमन गर्ने पर्ने हुन्छ । अहिले आएर कसैले कुन जिल्लाको ? भनेर प्रश्न राख्दा “म संखुवासभाली हुँ” भन्न हतारिन थालेको छु ।

सन्दर्भ जोड्न खोजेको मैले अहिले कुरा चल्दै गरेको “संखुवासभाली अंतररास्ट्रिय मंच” गठन गर्ने बारेमा हो । परदेशमा जे जस्तो दिनचर्या गुजारे पनि, दुख भए पनि सुख भए पनि आफु जन्मेको गाउँ र ठाउँको माया र सम्झना सबैलाई हुन्छ । त्यसैको उपज स्वरुप जिल्लाबासी भेला, जिल्लाबासी सेवा समाज को गठन इत्यादि इत्यादि हुने गर्छन अनि भै रहेका छन् । यस्ता भेला र समाज गठनका प्राथमिक उद्देश्य भनेको भैपरी आएको बेला एकापसमा सहयोगको आदानप्रदान गर्ने अनि जिल्लाबासीहरु बीच दुख सुखका सुचनाहरु लगातार रुपमा प्रबाह गर्ने नै हो ।

प्राथमिक उद्देश्य देखि बाहेक बिदेशमा स्थापित संखुवासभाली संस्थाहरुले आफ्नो गृह जिल्लामा बेलाबेलामा सहयोग गर्दै आइरहेका छन् । बाढीपहिरो पिडित, आगालागी पिडित, अपाङ्ग सहयोग, एम्बुलेन्स सहयोग, शैक्षिक सहयोग आदि आदि बिभिन्न पक्षहरुमा आफ्नो आफ्नो स्तर बाट सके सम्म संस्थागत रुपमा जिल्लालाई सहयोग गर्ने क्रम बढिरहेको छ । यी सबै उदाहरण हरुलाई मध्यनजर गरेर भन्ने हो भने बिदेशमा भएका संखुवासभालीहरु गृहजिल्लामा संचालित राम्रा कार्यक्रम र योजनाहरुमा सहभागिता जनाउन कन्जुस्याईं गर्दैनन ।

बिदेशमा भएका जिल्लाबासी संस्थाहरु सबै एक जुट भएर सामुहिक रुपमा अप्रोच गर्ने हो भने यस्ता सहयोगका कार्यक्रमहरु अझ प्रभावकारी हुने र बृहद हुने कुरामा कुनै दुईमत हुँदैन । यहि परिप्रेक्षमा संखुवासभा समाज बेलायत, संखुवासभा समाज हंकङ्, संखुवासभा कम्युनीति अफ यु एस ए(अमेरिका ) , संखुवासभा समाज कोरिया,संखुवासभा समाज कतार आदि आदि सबै देशका संखुवासभाली संस्थाहरुलाई एकत्रित गर्न छाता संगठन “संखुवासभा अंतर्रास्ट्रिय मंच” को अवधारणा अहिले महसुस हुन थालेको आवाश्यकता हो भन्दा सान्दर्भिक नै हुन्छ होला ।

यदि गृहजिल्लामा साँच्चै केहि गरौँ भन्ने मनहरु एकत्रित हुने हो भने यो अवधारणाले एक दिन विधिवत रुपमा संस्थाको स्वरुप पाउनेछ भन्ने आशा गर्ने ठाउँ धेरै छ ।

-अस्तु

Post Comment