१६,मंसिर । भारतमा मजदुरी गर्न गएका सुदूरपश्चिमका तीन जिल्लाका एक सय ४१ जना बेपत्ता भएका छन् ।निड्स नेपाल, कञ्चनपुर नामक गैरसरकारी संस्थाले भारतमुखी अप्रवासनबारे गरेको अध्ययनमा मजदुरीमा गएका व्यक्ति बेपत्ता भएको पाएको हो ।
‘भारतमा मजदुरी गर्न गएकाका परिवारसँगको प्रत्यक्ष भेटघाटका क्रममा अछामका २२, डोटीका ९९ र कञ्चनपुरका २० जना गरी एकसय ४१ जना बेपत्ता भएको पाइएको छ,’ निड्सका कार्यक्रम व्यवस्थापक प्रकाश मडैले भने । उनका अनुसार बेपत्ता भएका व्यक्ति पाँचदेखि बीस वर्षको अबधिसम्म परिवारकोसम्पर्कमा नरहेको पाइएको छ
।संस्थाले गरेको अध्ययनअनुसार तीनवटै जिल्लाका ६३ प्रतिशत काम गर्ने उमेरका युवा भारतमा मजदुरीका लागि जाने गरेका छन् । भारतमा मजदुरी गर्न जानेमध्ये ६० प्रतिशतसँग कमाएको पैसा सुरक्षित राख्नका लागि बैंक खाता नहुँदा उनीहरुको विप्रेषणसमेत जोखिममा रहेको पाइएको व्यवस्थापक मडैले बताए ।
संस्थाले विप्रेषण सुरक्षित राख्नका लागि भारतमा जानेको समूह बनाई बैंकमा खाता खोल्न र बैंकमार्फत पैसा पठाउनका लागि सचेतना दिने कार्य गरिएको उनको भनाइ छ ।‘एक वर्षको अबधिमै दुईसय प्रवासीले बैंकमा खाता खोली कारोबार गर्न थालेका छन्,’ उनले भने ।
सन् १९५० को नेपाल—भारत मैत्री सन्धिका आधारमा दुवै देशका नागरिक बिना रोकटोक नेपाल–भारत ओहोरदोहोरका साथै सम्पत्तिको व्यावसायिक अधिकार प्रयोगगर्दै आएका छन् ।एक देशबाट अर्को देश जानकालागि कुनै भिसा, प्रमाण नचाहिने र निर्बाधरुपमा नेपाली भारत र भारतीय नेपालमा आएर रोजगारमा संलग्न हुने गरेका छन् ।