१६ मंसिर । बिहीबार एमालेले संसद बैठक अवरुद्ध गरेपछि सांसदहरु उठेर बाहिर निस्कँदै थिए । अघिल्तिर कुुर्सीमा आमने सामने बसेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको हेराहेर भयो ।
मुसुक्क हाँस्दै प्रचण्डले ओलीसँग भन्नुभयो ‘एकछिन बसौं, कुराकानी गर्नुपर्यो ।’ हाँसीमजाक गर्ने बानी भएका ओलीले जवाफ दिनुभयो, ‘कुरा त परको कुरा, तपाईंको अनुहार पनि हेर्न मन छैन ।’ त्यसपछि प्रचण्ड केही गम्भीर हुनुभयो । ‘कहाँ त्यसो भनेर हुन्छ, कुरा गरौं’ प्रचण्डले भन्नुभयो ।
त्यसपछि दुई शीर्ष नेताबीच बाहिर निस्कने क्रममा केहीबेर अनौपचारिक कुरा भयो । दुई शीर्ष नेतासँगै रहनुभएका एमाले सांसद रविन्द्र अधिकारीका अनुसार प्रधानमन्त्रीले सहमतिमा आउन ओलीसँग आग्रह गर्नुभयो । जवाफमा ओलीले संशोधन प्रस्ताव देशको हितविपरीत भएको भन्दै आपत्ति जनाउनुभयो । एमाले चुनावमा जान र सहमति जुटाउन तयार रहेको, तर संशोधन प्रस्ताव मान्य नहुने बताउनुभएको अधिकारीले जानकारी दिनुभयो ।