कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा

अर्थ​

बाबियाचौर (म्याग्दी), १८ जेठ । बेनी नगरपालिका– १३ तातोपानीमा कृषि उपज सङ्कलन तथा बिक्री वितरण केन्द्र सञ्चालनमा आएको छ ।

जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सो केन्द्र सञ्चालनमा आएको हो । स्थानीय कृषकले उत्पादन गरेको तरकारी, फलफूल र पशुजन्य वस्तुको सङ्कलन गरी बजारीकरण गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालन गरिएको संस्थाकी सचिव मीना खत्रीले बताउनुभयो ।

केन्द्रमा तातोपानी, राक्से, अर्जेखोला, ठूलोखोला, सिमलचौर र पखेर गाउँका कृषकले उत्पादन गरेको कृषि उपज सङ्कलन गरेर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ । तरकारी सङ्कलन हुन थालेपछि कृषकलाई डोकोमा भारी बोकेर उपभोक्ता तथा व्यापारीको घरदैलो चाहार्नुपर्ने बाध्यता र उचित मूल्य नपाउने समस्या हटेको उहाँको भनाइ छ ।

“कृषकको समय बचत भएको छ,” उहाँले भन्नुभयो । उक्त केन्द्रमा सङ्कलन हुने तरकारी तातोपानी बजारमा खपत गर्ने र बढी भएको बेनीमा निकासी गर्ने व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष तुलप्रसाद श्रेष्ठले बताउनुभयो । सङ्कलन केन्द्रबाट तातोपानी आसपासका २०० घरधुरी लाभान्वित भएका छन् ।

सङ्कलन केन्द्र स्थापना गर्न कृषि विकास कार्यालयले रु सात लाख अनुदान तथा तातोपानी कृषि सहकारी संस्थामा आबद्ध कृषकले रु एक लाख २५ हजार बराबरको श्रमदान गरेर भवन निर्माण गरेका थिए ।