२८,मंसिर । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित संविधान संशोधन प्रस्तावको विरोधमा उत्रिएका विपक्षी ८ दलले संसदको गतिरोधलाई थप सशक्त पार्ने निर्णय गरेका छन् ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपक्षी ८ दलको बैठकले सरकारले संविधान संशोधनको विधेयक फिर्ता नलिदासम्म संसदको गतिरोध यथावथ राख्ने निर्णय गरेको हो ।
‘एमालेसहितका विपक्षमा रहेका ८ दलले संविधान संशोधनको विधेयक फिर्ताको दबाब दिँदै आएका छन्,’ बैठकपछि एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने- ‘त्यो दबाबलाई यथावथ राख्ने निर्णय गर्दै संसदको गतिरोलाई थप सशक्त बनाउने निष्कर्षमा पुग्यौं ।’
बालुवाटार कुरा नमिलेपछि ओली सिधै हुइकिए सिंहदरबार
विपक्षी ८ दलको बैठक बस्नुअघि एमाले अध्यक्ष केपी ओली मंगलबार विहान बालुवाटारस्थित प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठकमा सहभागी भए । बैठकमा प्रचण्डसहित सहभागी कांग्रेस सभापति देउवाले संसदको गतिरोध अन्त्य गर्न आग्रह गरे । तर, ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता लिन भने । प्रस्ताव कुनै हालतमा फिर्ता हुन्न भनेर देउवा र प्रचण्डले एकैस्वरमा जवाफ दिए । त्यसपछि केही बेर कुरा मोडियो निर्वाचनतिर । संशोधन प्रस्ताव फिर्ता नलिने र बीचमै निर्वाचनको कुरा आएपछि ओली बालुवाटारबाट सिंहदरबार हुइकिएका थिए ।
‘निर्वाचनमा जान तयार छौं, सरकार इमान्दार हुनुपर्यो’
एमाले संसदीय दलको कार्यालयमा बसेको ८ दलको बैठकले सरकार निर्वाचनमा गम्भीर नभएको निष्कर्ष समेत निकालेको छ ।
बैठकपछि एमाले प्रमुख सचेतक ढकालले भने- ‘सरकार निर्वाचको पक्षमा छैन् भन्ने हाम्रो बुझाइ हो । हामी निर्वाचनको विपक्षमा छैनौं । निर्वाचनमा जान तयार छौं । यदि सरकार इमान्दार भएर संसदमा विधेयक ल्याए पारित गर्न दिन्छौं ।’
उनले संविधान संशोधन विधेयक कुनै हालतमा अघि नबढ्ने र सरकारले जति चाँडो फिर्ता लियो त्यति नै चाँडो सहमति हुने बताए ।
बैठकमा एमालेबाट अध्यक्ष केपी ओलीसहित नेताहरु बामदेव गौतम, सुवास नेम्वाङ, भानुमक्त ढकाल, अग्नी खरेल, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी, नेमकिपाबाट नारायणमान विजुक्छे, नेकपा मालेबाट कुमार वेल्वासे, राष्ट्रिय जनमुक्ती पार्टी लोकतान्त्रिकबाट शिवलाल थापा र नेपाः पार्टीको लक्ष्मण राजवंशी लगायतको सहभागिता थियो ।