६,पुस । रक्षामन्त्री एवं नेपाली कांग्रेस प्रभावशाली नेता बालकृष्ण खाँडले पाँच नम्बर प्रदेश टुक्राउने सरकारको प्रस्ताव जनताकै हितमा रहेको बताएका छन् ।
प्रस्ताव ल्याउँदा क्याविनेटमै असहमति जनाएका तथा प्रस्तावविरुद्ध आवश्यक परे मन्त्री पदसमेत त्याग्नेघोषणा गरेका खाँडले बुधबार एकाएका बोली फेर्दै प्रदेश टुक्राउने पार्टी र सरकारको निर्णयबाट आफू पछि नहट्ने बताए ।
गृहमन्त्री एवं कांग्रेस नेता विमलेन्द्र निधिसँगै गुल्मी पुगेका खाँडले भाडगाँउमा कांग्रेस गुल्मीका पूर्व सभापति चन्द्र केसीका पिता ज्ञानबहादुर खत्रीको ११औं दिनको पूण्य तिथिमा आयोजित शोक सभामा बोल्दै ‘पार्टीले यस प्रदेशका जनताको हितको लागि ल्याएको प्रस्तावराष्ट्रहितमा रहेको र पार्टीको निर्णय नै सर्बपरि हो’ भने ।
सीमांकन हेरफेरमा जनताको असहमति आउनु स्वाभाबिक हो भन्दै उनले तर, आफू पार्टी निर्णयबाट पछी नहट्ने घोषणा गरे ।यसअघि खाँडले कपिलवस्तुमा आयोजित एकसमारोहमा पार्टी र सरकारभन्दा जनता ठूलो हो भन्दै प्रदेश टुक्राउने सरकारको प्रस्ताव गलत भएको बताएका थिए ।
पाँच नम्बर प्रदेशमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनले प्रस्तावविरुद्ध आवश्यक परे मन्त्री पदबाट राजीनामा दिने घोषणा समेत गरेका थिए ।