भारतको दार्जिलिङमा बाल्यकाल बिताएकी मेलिना राई पाश्र्वगायनमा जम्दै गरेको नाम हो । सयभन्दा बढी गीत गाइसकेकी उनलाई फिल्म ‘नाइँ नभन्नू ल–३’ को ‘कम्मरमाथि पटुकी’ बोलको गीतले बढी चर्चा दिलायो । ‘पलभरमै खुशी’, ‘डुब्दै गएँ म’, ‘माया मलाई’, ‘छाडी जाने भए जाऊ मायालु’ उनका रुचाइएका गीत हुन् ।
कसरी गाउने रहर पलायो ?
मेरो बाल्यकाल भारतको दार्जिलिङमा बितेको हो । १० वर्षको उमेरसम्म म दार्जिलिङमै बाजेबोजुसँग हुर्किएँ । आफ्नो बुबाको अनुहार त मैले १० वर्षपछि मात्र देख्न पाएँ । उहाँ काठमाडौँमा संगीत सिकाउनुहुन्छ, राम्रो संगीतकार हुनुहुन्छ भनेर बोजुले सुनाउनुहुन्थ्यो । मलाई खुशी लाग्थ्यो । किनकि, मेरो मनदेखिको रुचि गायन थियो । सानैदेखि नाच्न र गाउन भनेपछि हुरुक्कै हुन्थेँ । गाउँघरमा आयोजना हुने कार्यक्रममा प्रस्तुति दिन्थेँ । मेरो प्रस्तुति मन पराएर मलाई पैसा दिन्थे । त्यतिबेला असाध्यै खुशी लाग्थ्यो । यतिसम्म कि आफैँ ऐना हेर्दै गाउँथेँ र नाच्थेँ । गाउनभन्दा नाच्नमा मन जान्थ्यो ।
कसरी १० वर्षपछि मात्र बुबासँग भेट भयो ?
म सानैदेखि मावली गाउँमा हुर्किएर हो । बुबाको घरचाहिँ मोरङमा हो । बुबा काठमाडौँमा संगीत सिकाउनुहुँदो रहेछ । १० वर्षपछि मलाई पनि पढाउन भनेर यतै ल्याइयो । अनि, भेट भयो । यता आउनासाथ बुबासँग सिकेँ । उहाँले बिहान ४ बजे नै उठाएर संगीत सिकाउनुहुन्थ्यो ।
तपाईंले कहिल्यै सोच्नुभएको थियो फिल्ममा यसरी गीत गाउँछु भनेर ?
मेरो लक्ष्य नै गायिका बन्ने थियो । त्यही भएर कुनैबेला गाउँछु भन्ने त थियो । तर, अचम्मको कुरा के भने म सानो छँदा जब टीभीमा फिल्म हेर्थें, यस्तो स–साना मान्छे कसरी अटेको होला भन्ने लाग्थ्यो ? बोजुलाई प्रश्न पनि गर्थें । फिल्मका गीतमा देखिने हिरो–हिरोइनले नै त्यो गीतलाई गाएको जस्तो लाग्थ्यो । अहिले ती कुरा सम्झिँदा हाँसो लाग्छ ।
गाउनबाहेक अरू के गर्न मन पर्छ ?
म भ्रमण गर्न औधी रुचाउँछु । यो मेरो दोस्रो रुचि हो । त्यसैले म आफूलाई ‘लक्की’ ठान्छु । किनकि, नयाँ–नयाँ ठाउँमा गाउने अवसर मेरा लागि भ्रमण पनि हुने गर्छ । त्यसपछि पेन्टिङ पनि हल्का मन पर्छ । म सिर्जनाका कुरामा बढी मज्जा लिन्छु ।
तपाईंलाई सबै हँसिली भन्छन् । कहिल्यै रिसाउनुभएको छ ?
यसो भन्दा तबलाबादक प्रमोद उपाध्यायको याद आयो । उहाँले एकपटक भन्नुभएको थियो, ‘मेलिना पनि रिसाउँछे र ? रिसाएको त देखेको छैन ।’ अरूले मलाई हँसिली नै देख्छन् । तर, खासमा म असाध्यै बढी रिसाउँछु । मलाई घरमा बढी ‘इरिटेसन’ हुन्छ । म्युजिकमा त रमाउने भएकाले रिस उठ्दैन ।
प्रेम अनुभव चाहिँ छ कि छैन ?
त्यो त छैन । मैले बिहे गर्ने समय त धेरै टाढा छ । सफलताको शिखरमा पुग्न त अझै बाँकी छ । करिअरलाई शिखरमा पु¥याएपछि मात्र बिहे गर्छु ।
जीवनमा कसैलाई प्रेम नगरे पनि गर्न मन त लाग्यो होला, कोही त मन पर्यो होला ?
मन त पर्छन् नि । कोही कोही त यति मन पर्छन् कि भन्न मात्र सकिन्न । तर, जो मन पर्छ उसको र मेरो बाटो नै फरक भइदिन्छ । मेरो लक्ष्य नै फरक भइदिन्छ । कसैको व्यवहार मन पर्छ । तैपनि आफूलाई सम्हाल्छु । किनकि, दायाँबायाँ नगरी शिखरमा पुग्नु छ ।