काठमाडौँ, २५ जेठ । उपचारका क्रममा आज बिहान निधन हुनुभएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङलाई विभिन्न व्यक्तित्वले गीत, सङ्गीतका अनमोल हिराको संज्ञा दिएका छन् ।
स्व गुरुङको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज बिहान झण्डै ११ बजेदेखि अपराह्न ३ बजेसम्म नेपाल प्रज्ञा–प्रष्तिठान परिसरमा राखिएको थियो । स्व गुरुङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आउनुभएका विशिष्ठ व्यक्तित्व एवम् शुभेच्छुकले उहाँले नेपाली गीत, सङ्गीत क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै स्मरण गर्नुभयो ।
स्व गुरुङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न प्रतिष्ठान परिषर पुग्नुभएका उपराष्ट्रपति नन्दबहादुर पुनले स्व गुरुङले राष्ट्रलाई दिएको योगदानप्रति राष्ट्रले गर्व गर्नुपर्ने बताउनुभयो । स्व गुरुङका परिवारजनप्रति समवेदना व्यक्त गर्दै उहाँले गीत सङ्गीत क्षेत्रमा गुरुङले गरेको अमूल्य योगदानलाई युवा पुस्ताले पछ्याउनुपर्ने बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्व गुरुङलाई सम्झदै उहाँ राष्ट्रप्रेमी हुनुका साथै लेखन, सङ्गीत र गाउने तीनै प्रतिभाका धनी व्यक्तित्व हो भन्नुभयो । “मुटु छुने गीत, सङ्गीतका धनी स्व गुरुङ अनमोल हिरा हो” उहाँले भन्नुभयो ।
भोजन नली, मधुमेह, रक्तचापलगायत समस्यासँग जुधिरहनुभएका गुरुङको केही दिनदेखि राजधानीको एक अस्पतालमा उपचार भइरहेको थियो । यसअघि उहाँको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो । भारतको दार्जिलिङमा जन्मेर नेपाल आई उहाँले नेपाली गीत, सङ्गीतमा योगदान गर्नुभएको थियो ।
‘रातो र चन्द्र सूर्य।।।’, ‘नौ लाख तारा उदाए।।।, ‘म अम्बर हुँ, तिमी धर्ती।।।’लगायत करिब हजार गीतमा उहाँले सङ्गीत भर्नुभएको थियो । उहाँ गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त हुनुहुन्थ्यो ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशचन्द्र थपलियाले स्व गुरुङले नेपाली गीत सङ्गीतको क्षेत्रमा गर्नुभएको अथक योगदनको कुनै शब्दबाट प्रशंसा गर्न सकिदैन, त्यो अत्यन्त उच्च छ भन्नुभयो ।
गीत, सङ्गीतप्रति आस्था र विश्वास राख्ने प्रशासकका रुपमा परिचित सचिव थपलियाले सङ्गीतकार गुरुङ बिरामी भइसकेपछि राज्यका तर्फबाट दिइने सम्मानस्वरुप मासिक रु ३० हजार वृति दिने निर्णय गराउन आफूले खेलेको भूमिका स्मरण गर्नभयो ।
समीक्षक प्रकाश साय्मीले स्व गुरुङले साङ्गीतिक विद्यालय नै खोलेर वाद्यवाधन क्षेत्रमा अतुलनीय योगदान पु¥याएको चर्चा गर्दै नेपाली साङ्गीतिक क्षेत्रमा आधुनिक सङ्गीतका निर्माता गुरुङको अभाव सधैँ खट्किने बताउनुभयो ।
विसं १९९४ फागुन १४ गते भारतको दार्जिलिङमा उहाँको जन्म भएको थियो । प्रवासमा जन्मेर नेपाल आई उहाँले नेपाली गीतसङ्गीतमा योगदान गर्नुभयो । उहाँको पहिलो गीत ‘नौलाख तारा उदाए।।।’ विसं २०१८ मा कोलकातामा रेकर्ड भएको थियो ।
विसं २०२४ मा नेपाल आउनुभएका गुरुङले २०२६ देखि प्रज्ञा–प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गर्नुभएको थियो । उहाँ २०२७ सालमा ‘गोरखा दक्षिण बाहु’द्वारा विभूषित हुनुभयो ।
नेपाली राष्ट्रगानका रचयिता ब्याकुल माईलाले स्व गुरुङलाई जीवनभर नेपाली गीत सङ्गीतको शान र गौरव बढाउन लागेको तपस्विीको रुपमा स्मरण गर्नुभयो । “उहाँका गीत, सङ्गीत र स्वर सबै कालजयी छन्” उहाँले भन्नुभयो ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले स्व गुरुङले गीत सङ्गीत क्षेत्रमा दिनुभएको योगदान वतर्मान र भावी पुस्ताले सदैव सम्झिइ कदर गर्नेछन् भन्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले स्व गुरुङ राष्ट्रको गहना भएको चर्चा गर्दै गीत सङ्गीत क्षेत्रमा उहाँले गर्नुभएको योगदान अतुलनीय भएको विचार व्यक्त गर्नुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति गुरुङले करिब हजार गीतमा सङ्गीत भर्नुभएको थियो भने छ÷सात सय गीत उहाँकै शब्द र स्वरमा रहेका छन् ।