सुन्तला महोत्सव पुस ९ देखि

अर्थ​

 नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तथा जिल्ला कृषि विकास कार्यालय पर्वतको आयोजनामा यही पुस ९ देखि १५ गतेसम्म पर्वतको कुश्मा नगरपालिकामा चौथो पर्वत लघु, घरेलु कृषि, वनजन्य औद्योगिक प्रदर्शनी एवम् कफी, लप्सी तथा सुन्तला महोत्सव हुने भएको छ ।

oranges of pokhara

स्थानीय लघु घरेलु तथा कृषि र वनजन्य उत्पादनको बिक्री तथा प्रविधि प्रदर्शनी, अल्लोका कपडा, लोक्ताको नेपाली कागज, हस्तकलाका सामग्री, कफी, सुन्तला, जुस, मह, जडीबुटी, लप्सी, अदुवा, क्यान्डी तथा जैविक कृषि उत्पादन, ट्राउट माछा र दूधका परिकारको महोत्सवमा प्रदर्शनी तथा बिक्री गरिने आज आयोजित पत्रकार सम्मेलनमा मूल संयोजक शिवशर्मा पौडेलले जानकारी दिनुभयो ।

‘स्थानीय उत्पादनको उपभोग गरौँ, लघु घरेलु उद्यमीलाई प्रोत्साहन गरौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको उक्त महोत्सवमा १५० वटा कक्ष राखिने छ ।
महोत्सव दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र डेढ करोडबराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

दर्शकलाई मनोरञ्जन दिनका लागि लोकदोहोरी गीत प्रतियोगिता, लोक सांस्कृतिक र कफी सांस्कृतिक कार्यक्रम, भलिबल, छेलो फाल्ने र लठ्ठा तान्ने प्रतियोगिता पनि आयोजना गरिने छ । रासस

Post Comment